राजनीति, गलत पात्र, परिवेश र परिणाम

  मणि दाहाल

राजनीति निस्वार्थ समाज सेवा हो । राजनीतिक अभियान्ताहरु समाजसेवी हुन् । उनीहरु नै सामाजिक अभियान्ता र चेतनाका वाहक हुन् । राम्रो संस्कार र संरचनाका सिर्जनाकार हुन् । सेवाको नकावमा च्याउसरी उदाएका एनजीओकर्मी, अनेकांै नामका अधिकारकर्मी सामाजिक अभियान्ता हैनन् । उनीहरु सेवा आवरणको पेशाकर्मी हुन् । तर, समाजले राजनीतिलाई सेवा मानेन । राजनीतिकर्मीलाई समाजसेवी मानिएन । यो गलत सामाजिक मान्यता हो । यही गलत मान्यताकै कारण आजको राजनीति विकृत बनेको हो ।

सत्ता र स्वार्थकेन्द्रित राजनीतिक परिवेशले राजनीतिलाई पेशा बनाएको पक्कै हो । राजनीतिक आडमा पथभ्रष्ट खेलहरुले राजनीतिप्रति समाजको नकारात्मक सोचाइ बनेको पनि पक्कै हो । तर के राजनीतिकर्मीहरु सबैले राजनीतिलाई पेशा मात्र बनाएका छन् त ? निष्ठापूर्ण राजनीतिकर्मीहरुको जमात छैन त ? पक्कै छन् । निष्ठापूर्ण राजनीतिक अभियानमा जीवन बिताउने इमान्दार राजनीतिज्ञहरु पनि समाजभित्र छन् । तर, तिनीहरु गुमनाम छन् । बलेको आगो मात्र ताप्ने सामाजीक चेतनाले तिनीहरुलाई चिन्दैन । इमानको पहिचान गर्दैन । समाजको त्यहि गलत पहिचानले राजनीति अपराधपूर्ण खेल बनेको मात्र हो ।

संैद्धान्तिक, शैलीगत तथा कार्यगत रुपमै बिचलित अनि संस्कारहीन निर्लज्ज पात्रहरुको घेराबन्दीले राजनीति पेशा बन्यो । राजनीति पेशा बन्नाले सत्ताको स्वादमा पथभ्रष्ट उदण्डता राजनीतिको विशेषता बन्यो । यस्तोे विशेषताले विधि, विधान, नैतिकता र अनुशसन कुनैबाट पनि निर्देशित हुनु नपर्ने मैमत्ता प्रवृतिको विकास गरायो । राजनीतिलाई फोहोरी खेल बनायो । समाज सत्ताको मात्र पुजारी बन्यो । राजनीतिक दलहरुमा सरकार र सत्ता भन्दा बाहिर बस्नै हुन्न भन्ने मान्यताको विकास भयो । यो मान्यता समाजले नै विकास गरायो । किनकि समाजले सामुहिकता खोजेन । एकात्मक लाभको पछि दौडियो । जसकोे नकारात्मक परिणम आज देखिदै छ ।

समाजको एकात्मक सोच भएपछि राजनीति पेशा बन्छ । त्यसपछि गलत पात्रको उदय हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकाय तथा अनेकांै क्षेत्रका माफियाहरु राजनीतिमा हाबी हुन्छन् । उनीहरु नागरिक समाजको भेषमा उदाउँछन् । त्यसपछि उनीहरुले राजनीतिक परिदृश्यमा अनेकौ दुर्भाग्यपूर्ण खेलहरुको जाल बुन्छन् । जब सफलता हात लाग्छ अनि सल्बलाउन थाल्छन् । त्यसपछिको राजनीति अन्यौलपूर्ण हुन्छ ।

२०४८ अघिका घटनाक्रम बाहेक राजनीतिमा अनेकांै दुर्भाग्यपूर्ण सृङ्खलाहरु देखा परे । ती सृङ्खलाको परिणमले आज पनि सत्ताउन छाडेको छैन । दाशढुङ्गा हत्याको दुइ वर्ष नबित्तै २०५२ भाद्र १२ गते अदालती ‘कु’ को सृङ्खला सुरु भयो । स्व. मनमोहन अधिकारिलाई अस्पतालको शैय्याबाट अपदस्त गरियो । त्यसपछि देश माफियाको साम्राज्य बन्यो । राजनीतिमा अनेकांै फोहोरी खेलहरु भित्रिए । देश जबरजस्ता युद्धमा होमियो । दरबार हत्याकाण्डदेखि ज्ञानेन्द्रको सैनिक ‘कू’ सम्मको तीतो यथार्थता स्वीकार्न बाध्य हुनु प¥यो । २०६२—६३को जनक्रन्तिको अवतरणपछि पनि जातीय अतिवाद र एकल लैङ्गिक संकिर्णतावादले शिर ठाडो बनाउने वातवरण निर्माण ग¥यो । यो दुःखद सृङ्खलाको कारक के हो त ? समाजले गलत पात्र नचिन्दाको परिणम हैन र ?

विगतका भूलहरु आगतका सुल बनेर देखा पर्छन् । लैङिक समानताको नाममा देखा पर्ने एकल लैङ्गिक संकीर्णतावाद र जातीय अतिवादले वर्गीय विभेदमुक्त समाज निर्माण गर्न सकेन । पूर्वाधारविहीन नश्लीय आरक्षणले आरक्षित वर्गको अधिकारलाई सुनिश्चित गर्न सकेको छैन । जसको लगि आरक्षण थियो त्यसको आँगनमा पुग्न नसकि आरक्षण सहरका टाठाबाठाको गोजीमा सीमित भएको छ । विविधताभित्रका असन्तुष्टिहरु जस्ताको तस्तै अवस्थामा छन् । वर्गीय तथा जातीय विभेद त्यस्तै छ । अपराध राजनीतिको निर्देशक बनेको छ । यस्ता सबै परिघटनाहरुका पहिलो कारक त हामी र हाम्रो समाज हैन र ? हामीले चैं नैतिक जिम्मेवार हुनु नपर्ने ?

राजनीतिमा हाबी गलत पात्रहरुका पापको प्रायश्चित जनताले गर्दै आएका छन् । प्रायश्चितको बाबजुद पनि सहिष्णु जनताले तिनै पात्रलाई माफी र मौका दिएकै छन् । जनताले के दिएका छैनन् ? बहुमत माग्दा पनि दिएकै छन् । बहुमतले भएन दुई तिहाइ चाहियो भन्दा पनि दिएकै छन् । तर, जनताले जे दिए पनि शासकले त्यसलाई टिकाउन सकेनन् । नेतृत्वको बालहठ, भष्मासुर प्रवृत्ति संस्कारहीन असहिष्णु प्रवृत्ति जस्ता अनेकांै गैरराजनीतिक शैलीले राजनीतिलाई नजरबन्द गरेको छ । सुध्रने छाँटकाँट देखिदैन । जनसदासयतालाई समर्थन ठानिदै छ । यसको कारक के हो त ? पात्र नचिन्ने परिवेशले हैन ?

आज देश काण्डैकाण्डको संजालमा रुमलिएको छ । शरणार्थी काण्ड, बालुवाटार काण्ड, यती, ओम्नी र वाइडबडी काण्ड, सेक्यूरिटी प्रेस खरिद काण्ड, टिकापुर जग्ग्गा घोटाला काण्ड, गिरिबन्धु काण्ड, सुन तस्करी काण्ड, डेडिकेटेड फिडर प्रयोगबापत व्यापारीले तिर्न बाँकी २१ अरब विद्युत, महशुल मिनाहा गर्न ८ अरबको सेटिङ काण्ड, अर्थात राज्यका तिनै तहमा आसिन राजनीतिक पात्रदेखि सार्वजानिक प्रशासकसम्मका अनगिन्ती काण्डै काण्ड मात्र छन् । तर, लज्जाबोध छैन । नैतिकताबोध छैन । यस्ता कुरामा पनि समाजको एक हिस्सा ठिक र बेठिकमा बाँडिएको छ । अनि अर्को हिस्सा मौन ब्रतालू बनेर सुतेको छ ।

विचार शून्यताले बिचलित र विमुख बनाउँछ । आजको राजनीति सिद्धान्तबाट बिचलित हुँदैे दूषित जलमा परिणत भएको छ । तर, दूषित जललाई निर्मल जल मान्ने सामाजिक परिवेशले जनतालाई संक्रमित बनाएको छ । जनतालाई संक्रमणको उपहार दिएर सीमित अभिजात्य वर्गले राज्यमा हालिमुहाली जमाएको छ । तर पनि परिवेश उस्तै छ । यसको कारण के हो त ? बुझपचाउने सामाजिक परिवेश हैन र ?

परिपक्व तथा ठुला भनिने राजनीतिक दलहरुले आफूलाई सुधार्न आवश्यक ठानेका छैनन् । उनीहरु जितको उन्मादमा छन् । तर, निर्वाचन जितेर मात्र सबै जितिदैन भन्ने कुराको महसुश कहीँ कतैबाट गरेको देखिदैन । जितकै कुरा गर्दा त पञ्चहरु पनि शतप्रतिशत जित्थे । सबै नेपाली पञ्च र सबै पञ्च नेपाली थिए । आजका नवमण्डलेहरु झैं विगतका मण्डलेहरुको पनि भुइँमा खुट्टै थिएन । तर, हालत के भयो ? बंगालादेशलाई सम्वृद्ध राष्ट्र बनाउँदै बेरोजगारी दरलाई तीन प्रतिशतमा झार्न सफल भएर पनि पछिल्ला असहिष्णु व्यवहारको परिणाम शेख हसिनाले कसरी भोग्दै छन् ? इतिहास बडो कठोर हुन्छ । नेपाली जनताले स्वार्थको माला खोलेर आए भने हालत के हुन्छ ? आँखा नखोल्ने ?

बुधबार, १९ भदौ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर