विराटनगर । सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई पदमुक्त गरेसँगै थाइल्याण्डको संसद्ले ३७ वर्षीय पेतोङत्रान सिनावात्रालाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको छ ।
पूर्वप्रधानमन्त्री ताक्सिन सिनावात्राकी छोरी पेतोङत्रान थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन् । उनी थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री हुन् ।
यिङलक थाइल्याण्डको प्रधानमन्त्री बन्ने देशको पहिलो महिला थिइन् । उनी पेतोङत्रानकै काकी हुन् । संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको दुई दिनपछि पेतोङत्रान प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।
पेतोङत्रान र बखास्तीमा परेका ताविसिन दुबै फेउ थाई पार्टीका हुन् । सन् २०२३ को चुनावमा पेतोङत्रान दोस्रो स्थानमा रहेकी थिइन् ।
थाइल्यान्डकै चुलालोङकर्ण युनिभर्सिटीबाट राजनीतिशास्त्र, समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातक गरेकी उनले बेलायतको युनिभर्सिटी अफ सर्रीबाट इन्टरनेसनल होटल म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गरेकी छन् । राजनीतिकर्मीका अलावा उनी व्यवसायी पनि हुन् । एससी एसेट कर्पोरेसनको सबैभन्दा ठूलो सेयरहोल्डर रहेकी उनी थाइकम फाउन्डेसनकी एक निर्देशक पनि हुन् ।
सिनावात्राको परिवारका तीन सदस्य यसअघि थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् । उनका बुबा ताक्सिन र काकी यिङलकसहितले सैनिक ‘कू’ वा संवैधानिक निर्णयका कारण राजीनामा दिनुपरेको थियो ।
गत बुधबार त्यहाँको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेत्था थाभिसिनले जेल परेका व्यक्तिलाई मन्त्री बनाएर संविधान उल्लंघन गरेको भन्दै बर्खास्त गरेको थियो । उनी एक वर्ष पनि पदमा रहन पाएनन् । थाइल्यान्डमा दुई दशकयता राजनीतिक स्थिरता कायम हुन सकेको छैन । (एजेन्सीको सहयोगमा)