काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँगको विमतिका विषयवस्तुलाई जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
विमतिका विषयहरूमा चुप लागेर बस्नका लागि कांग्रेस र एमालेको गठबन्धन नभएको भन्दै शर्माले खुल्ला रुपमा ती विषयमा छलफल हुनुपर्ने बताए ।
शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा शर्माले दुई दलबीच विमतिका विषयमा थाती राखेर अघि बढ्न गठबन्धन नबनेको बताए । ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेबीच भएका विमतिका विषय वस्तुहरूलाई हामीले तिलाञ्जली दियौं, जबरजस्ती छोप्न खोज्यौं भने दुर्घटना हुन्छ’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई महसुस होला भनेर कांग्रेस चुप लाग्ने र शेरबहादुर देउवालाई महसुस होला भनेर एमाले चुप लाग्नुको अर्थ नहुने शर्माले बताए । आफूहरूबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको उनको दाबी छ ।
एमालेको हामीसँगका विमतिलाई काँग्रेसले बुझ्नुपर्ने भन्दै उनले एमालेका सबै दृष्टिकोणसँग सहमत हुने हो भने पार्टी नै एउटै हुने बताए । ‘हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि त’ उनले भने, ‘हाम्रो पार्टी, विचार, पृष्ठभूमी, संगठन, सोचाइ नै फरक हो नी त, पृष्ठभूमि नै फरक हो ।’
सरकारको काम र गतिविधिलाई कांग्रेसले गम्भीरताका साथ हेर्ने भन्दै उनले सरकारको गतिविधिमा, काममा, संयममा उसको भविष्य निर्धारण हुने बताए ।