जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न सकिने बताएका छन् ।

विराट मैथली साहित्य परिषद्लगायत ११ संस्थाद्वारा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले विभित्र जातजातिका भाषा, संस्कृतिको एवं सम्पदाको संरक्षण एवं विकास गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा भाषा आयोगले दिएको सिफारिश अनुसार दोस्रो भाषाको रुपमा मैथली र लिम्बू भाषालाई लागु गर्न कानुन बनाएर चालु आर्थिक वर्षमा प्रदेश अधिवेशनमा पेश गरी पास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रममा साहित्यकार प्रा.डा. राजेन्द्र विमल तथा कथाकार रामनारायण सुधाकरलाई सम्मान गरिएको थियो ।

सम्भावना बोकेको विराटनगर विभित्र कारणले विकासमा पछाडि परेकोले चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महानगरका साथै यहाँ बसोबास गर्ने विभित्र भाषाभाषीको समग्र विकासका लागि इमान्दार प्रयत्न गर्ने कुरामा जोड दिए । ‘प्रदेशले विगतमा ल्याएको प्रज्ञा प्रतिष्ठान ऐनमा रहेको त्रुटीलाई संशोधन गरी संसदमा पेश गर्ने र यसैको माध्यमबाट सबै भाषा, संस्कृतिको संरक्षण हुनेछ’ उनले भने, ‘प्रतिष्ठानका लागि नीति, कानुन र बजेटको व्यवस्था हुनेछ ।’

सम्मानित प्राडा विमलले हामीसबैले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकता कायम गर्नुपर्ने सुझाव दिए । कार्यक्रमका संयोजक रामरिझन यादवले भाषा आयोगले दिएको सुझाव प्रदेशमा कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

शनिबार, १९ साउन, २०८१, साँझको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page