विराटनगर । नेकपा माओवादी केन्द्रले काेशी प्रदेश सरकारलाई दिएकाे समर्थन कायमै राखेर मन्त्रीकाे राजिनामा दिने भएकाे छ ।
माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बाेले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेकाे र आज राजीनामा दिन लागेकाे बताए ।
`उहाँले बाम एलायन्सलाई जाेगाउँछु भन्नू भएकाे थियाे,´ आङ्बाेले भने, `पार्टी अध्यक्ष प्रचण्डले पनि मुख्यमन्त्रीले चाहेसम्म सरकारमा रहनु भन्ने प्रष्ट निर्देशन दिनुभएकाे थियाे । तर, अहिले सहमतिकाे सरकार गठन गर्ने कुरा सम्भव नभएपछि सरकारबाट बाहिरिने भएका हाैं ।´
यद्यपि मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगकाे भेटपछि अब राष्ट्रिय सहमतिकाे सरकार नबन्ने भयाे भनेपछि आफूहरूले सरकारबाट बाहिरिने निर्णय गरेकाे आङ्बाेले बताए । यद्यपि लामाे समयसम्म समर्थन नदिने प्रष्ट पार्दै उनले उपधारा ५ अनुसार बनेकाे सरकारकाे समर्थन लिँदा सबै सांसदहरू भेला हुनुपर्ने भएकाे कारण पछि धकेलिएकाे आङ्बाेले बताए ।
`अब केही समयपछि हाम्रा मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिनुहुन्छ,´ उनले भने, `तत्कालका लागि समर्थन भने कायमै रहने छ ।´ अब माओवादीले सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने उनले बताए ।
गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो । केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।
कोशी सरकारमा माओवादीबाट भौतिक पूर्बाधार बिकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् ।
संविधानको धारा १६८(५) अन्तरगत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।