
प्रा.डा. प्रमोद कुमार झा
१.१. यथार्थपरक अभ्यासः
वर्तमान परिपेक्ष्यमा विश्व अर्थतन्त्रको रेखांकन गर्दा आर्थिक समृद्धि (Economic treaspercity) र निरपेक्ष गरिबी (Absstute Poverty) का बृत्तचित्रहरु एकसाथ बढेको पाइन्छ । नेपाली माटोमा आर्थिक सामाजिक रुपान्तरणका लागि हजारौं हजारको बलिदानपश्चात स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अबको बाटो दीगो र फलदायी विकासको सशक्त आधार निर्माण गर्नु हो । संघीय संरचनाको अभ्यासमा लागेका मुलुकहरुको आर्थिक विकासको नमूनालाई नेपालमा योजनावद्ध ढंगले रुपान्तरण गर्न सकियो भने नेपालको विकासको नमूना दक्षिण एसियाका अरु मुलुकहरुका लागि उदाहरण बन्न सक्दछ । एसियाका दुई उदयीमान शक्तिशाली मुलुकहरु चीन र भारतको भूगोलसँग प्रत्यक्ष रुपमा जोडिने नेपालमा संभावित एक्लो जलविद्युतको विकासले आर्थिक विकास र रुपान्तरणको यात्रा सहज हुन सक्दछ । लागतमैत्री जलविद्युत उत्पादन हुनसक्ने नदीको मुहानसम्म पुग्न सडक पुर्वाधारको विकास अपरिहार्य शर्त हो । आय रोजगारीको निर्माण (Income Employment Generation), गरिवी निवारण (Income Employment Generation) र दीगो आर्थिक विकास (Sustainable Economic Development) जस्ता वहुआयामिक घटकले नेपालमा आर्थिक रुपान्तरण (Economic Transformation) को यात्रालाई सार्थक निष्कर्षसम्म पुन्याउन संभव हुनसक्ने देखिन्छ ।
१.२. ग्रामीण अर्थतन्त्र, लघुउद्यम र व्यवसायिक तथा पूर्वाधार विकास:
यातायात र सञ्चार पूर्वाधार विकासका प्रमुख घटकहरु हुन् । ग्रामीण अर्थतन्त्र नेपालको प्राण हो । नेपालमा विशेषगरि हिमाली र पहाड़ी जिल्ला र भेगका गाउँहरु रित्तिँदै गएका छन् । उचित सड़क सञ्जालले गाउँलाई बजार र शहरहरुसँग सहजै जोड्ने पद्दतीलाई Connectivity Technology को रुपमा प्रस्तुत गरिन्छ । यो चिनियाँ पद्दती हो, जसको सार्थक विकासले गाउँको उत्पादनलाई किसान र घरेलु लघुउद्यमी व्यवसायीहरु सहरसम्म ल्याई उचित मूल्य प्राप्त गर्न सक्दछन् । यसले ग्रामीण भेगको आर्थिक गतिविधिमा बृद्धि आउन गई किसान तथा लघुउद्यमीलगायत शीप भएकाहरूको उत्पादनमुखी अभ्यासको आधारमा नेपाली ग्रामीण जनताको आर्थिक हैसियतमा उल्लेख सुधार आउन सक्दछ । यसले गरिबी निवारण (Poverty Alleviation र गरिबीमुक्त नेपाल (Property Free Nepal) को सपनालाई पनि रुपान्तरण गर्न सकिन्छ ।
कोशी प्रदेशको सन्दर्भमा उदाहरणका लागि जोगबनी–किमाथांका सड़क निर्माण पूरा भए पश्चात यस भेगका आर्थिक गतिविधिमा तीब्रता र उल्लेख्य बृद्धि हुनगई कोशी प्रदेश र समग्र नेपालका अर्थतन्त्रमा युगान्तकारी सार्थक उपलब्धी रुपान्तरण हुने निश्चित छ । आम जनताले धान्नसक्ने सडक र हवाई पूर्वाधारको विकासले नेपालको पर्यटन विकासलाई नयाँ उचाईसम्म पुर्याउन सकिने प्रष्ट संभावना छर्लङ्ग देखिन्छ ।
१.३. मौद्रिक स्थायित्व : विकासको संवाहक
दीगो विकासका लागि माटो सुहाउँदो वास्तविकतामा आधारित मौद्रिक तथा वित्तीय नीति (Monetary and Fiscal Police) को निर्माण तिनको प्रभावकारी कार्यान्वयन अपरिहार्य हुन्छ । मौद्रिक नीतिलाई आर्थिक विकासको संवाहक (Engine of Economic Growth) को विश्वव्यापी रूपमै प्रस्तुत गरिन्छ । केन्द्रीय बैंकको उचित मौद्रिक व्यवस्थापन तथा विकासप्रति समर्पणको अभ्यासद्वारा दीगो आर्थिक विकासको प्रस्थान विन्दुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा इंगित तथा मान्यताका लागि प्रस्तुत गर्न सकिन्छ । नेपालमा मौद्रिक व्यवस्थापन समयसापेक्ष र विकासमुखी हुनुपर्नेमा दुईमत हुन सक्दैन । तर, विगत केही वर्षयता मौद्रिक नीतिको प्रभावकारीतामा प्रश्नचिन्ह उत्पन्न भएको छ । अघिल्लो वर्ष तरलता अभाब (Liquidity Crunch) तथा अहिले आधिक तरलता (Liquidity Surplus) ले गर्दा अन्यौलको वातावरण नेपालको अर्थतन्त्रमा सृजना भएको अनुभूति हुन्छ ।
औद्योगिक विकासको अवस्था खस्कँदो र दयनीय वृतचित्रको रुपमा नेपालमा सृजना हुँदै गएको छ । मौद्रिक नीतिले औद्योगिक क्षेत्रको मनोवल उकास्न, लगानीको सार्थक वातावरण सृजनाका लागि सरकारसँग उचित समन्वय स्थापित गर्नु अहिलेको आवश्यकता हो । नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार पनि भएकाले सरकार र राष्ट्रबैंक उक्त संवेदनशील विषय वस्तुमा राष्ट्रहितको लागि हातेमालो गर्न आवश्यक देखिन्छ । तर, यदि यस्तै संवेदनहिनताको अवस्था कायमै रह्यो र सरकार तथा केन्द्रीय बैंक आफ्नै हिसावले अगाडि बढ््न खोजियो भने मुलुक आर्थिक संकटमा पर्ने भयावह स्थितिको जिम्मा अन्तराष्ट्रिय जगतले हामी सबैलाई कसुरदारको रुपमा प्रस्तुत गर्ने खतरा देखिन्छ । मुलुक आर्थिक दिनहिनताको शिकार हुनु दुर्भाग्यपूर्ण हुन्छ ।