विराटनगर । कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले समाजवादी पार्टी रोजेकी हुन् ।
जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले आजसम्मको समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनि सनाखत गरेकी छन् ।
लिम्बूले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बू एकमात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा कुनै सांसद बाँकी छैनन् । उनी कोशी प्रदेशको दुई पटक स्वास्थ्य मन्त्री भएकी थिइन् । २०७९ पुस २५ गते पहिलो पटक भएकी थिइन् । त्यसबेला हिक्मत कार्कीको नेतृत्वमा सरकार भएको बेला लिम्बू स्वास्थ्य मन्त्री भएकी थिइन् । त्यसपछि २०८० साउन २६ गते दोस्रो पटक स्वास्थ्य मन्त्री भएकी थिइन । दोस्रो पटक उद्धव थापाको नेतृत्वमा सरकार हुँदा उनी स्वास्थ्य मन्त्री भएकी थिइन् ।