कोशी प्रदेशसभा सचिवमा पराजुलीको पुनः नियुक्ति

विराटनगर । कोशी प्रदेशसभाको सचिवमा गोपालप्रसाद पराजुलीको पुनः नियुक्ति भएको छ ।

वैशाख ८ गतेबाट ५ वर्षे कार्यकाल पुरा गरेर अवकास हुन लागेका पराजुलीको वैशाख ९ गतेबाट लागू हुनेगरि सोमबार पुनःनियुक्ति भएको हो ।

सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले पराजुलीलाई पुनः नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५ ९१० अनुसार सभामुख विष्टले पराजुलीलाई यसअघि सचिवमा नियुक्तिको सिफारिस गरेका थिए ।

२०७६ वैशाखमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएका पराजुलीलाई लगत्तै प्रदेशसभाको सचिव नियुक्त गरिएको थियो । प्रदेशसभा सचिवको पदावधि ५ वर्षको हुने कानुनी व्यवस्था छ ।

कार्यकाल पुरा गरेपछि पनि पुनः एक कार्यकाल पुनःनियुक्ति हुनसक्ने कानुनी प्राबधान अनुसार पराजुलीले निरन्तरता पाउने भएका हुन् । उनले अब करिब अढाइ वर्ष प्रदेशसभाको नेतृत्व गर्नेछन् । त्यसपछि भने ६५ वर्षको उमेर हदको कारण उनले अनिवार्य अवकास पाउनेछन् ।

कानुनअनुसार प्रदेशसभा सचिवले प्रदेशसभा तथा सचिवालयको वार्षिक बजेट तयार गर्ने, आर्थिक, प्रशासनिक सम्वन्धि आवश्यक काम गर्ने र सचिवालय र अन्य निकायसँग आवश्यक समन्वय गर्नेलगायत काम गर्नुपर्नेछ । प्रदेशसभाको कामलाई गति दिने र व्यवस्थित गर्ने दायित्व उनीसँग रहन्छ ।

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भइसकेका पराजुली ४६ वर्ष पहिला निजामति सेवामा प्रवेश गरेका थिए ।

सोमबार, ०३ बैशाख, २०८१, साँझको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर