सेवाग्राहीमैत्री कार्यालय

 सम्पादकीय

सरकारी कार्यालयलाई सेवा प्रदायक कार्यालय भनिन्छ । तर, हाम्रा धेरै कार्यालयहरु सेवाग्राहीलाई दुःख दिने पहिचान बनाएका छन् । सेवाप्रवाह सेवाग्राहीमैत्री बिरलै हुन्छ । सर्वसाधारणले विभिन्न सेवा लिन सरकारी कार्यालय पुग्दा दुःख र सास्ती पाउँछन् । कार्यालयका प्रमुखसँगको पहुँच नहुने, बिचौलिया हावी हुने, घुसको लेनदेन हुनेदेखि सर्वसाधारणले लामो लाइनमा लागेर सेवा लिनुपर्ने बाध्यता धेरै कार्यालयमा हुन्छ । सेवा लिन पुगेका सेवाग्राहीलाई धेरै कार्यालयमा न बस्ने कुर्सी हुन्छ, न पालो पर्खने नियम । बरु कर्मचारीहरुको अपमान र गाली सहनुपर्ने बाध्यता हुन्छ । तर, पछिल्लो समयमा कतिपय स्थानीय सरकारहरुले पनि आफ्नो कार्यालयलाई साच्चिकै सेवाप्रदायक कार्यालय बनाएका छन् । करमाथि कर थोपरेको भन्दै आलोचना गर्नेहरुलाई सरकारप्रति सकारात्मक भावना पैदा गराउने उपायको खोजीमा इटहरी उपमहानगरपालिकाले त्यस्तै नौलो तरिका अपनाएको देखिन्छ । जुन सकारात्मक छ ।

इटहरी उपमहानगरपालिकाले कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीलाई आराम गर्ने र पालो पर्खने छुट्ट कक्ष मात्र बनाएको छैन, उनीहरुलाई त्यहाँ निःशुल्क मिठो कफीसमेत खुवाएर स्वागत गर्ने गरेको छ । उपमहानगरले कफी पिउन व्यवस्थित र शान्त प्रतिक्षालय बनाएको छ । सेवाग्राही आरामसँग बसेर कफी पिउँछन् र शान्त भएर फर्किन्छन् । वातानुकुलित प्रतीक्षालयको एकातर्फ अलग्गै स्तनपान कक्ष छ । त्यहाँ ४५ इन्चको टेलिभिजन सेट जडान गरिएको छ । एउटा कुनामा कफी बनाउने मेसिन राखिएको छ र कफी बनाउन दुई जना कर्मचारी खटाइएको छ । प्रतिक्षालयमा बन्ने कफी सेवाग्राहीका लागि मात्र नभएर कार्यालयका सबै कर्मचारीहरुका लागि पनि हो । पहिले मासिक करिव ४ लाख रुपैयाँ चियामा खर्च हुने गरेको इटहरीमा अहिले सेवाग्राहीसमेतलाई सेवा दिँदा पनि आधाभन्दा धेरै बजेट बचत हुने गरेको उपमहानगरले जनाएको छ ।

नगरबासी नागरिकलाई केही सहजता प्रदान गर्ने उदेश्यले खेर गइरहेको भवनलाई सदुपयोग गरी उपमहानगरपालिकाले प्रतिक्षलय सञ्चालन गरेको हो । प्रतिक्षालयको हलमा नागरिक साहयता कक्ष तथा विद्यालयहरूको अनुगमन गर्न सिसी क्यामरा राखिएको छ । त्यहिँबाट इटहरीका सबै विद्यालयको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको उपमहनगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयहरुको अनुगमन प्रतिक्षलयमा राखिएको सिसी क्यामराबाट हुने गरेको जनाइएको छ । सेवाग्राहीलाई शान्त वातावरणमा सेवा लिन आउने र आराम गर्नसक्नेगरि कार्यालय बनाएको उपमहानगरले सेवाग्राहीहरुको निवेदन फारम पनि आफैं भरिदिने व्यवस्था मिलाएको छ । प्रक्रिया थाहा नभएका जो कोहीे सेवाग्राहीको सबै काम कर्मचारीकै सहयोगमा सम्पादन गर्ने व्यवस्था मिलाइएको छ । जुन सकारात्मक र अन्य स्थानीय सरकारले पनि सिक्नुपर्ने कार्य हो ।

बिहिबार, २२ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर