विराटनगर । मोरङको रंगेली नगरपालिका–३ बावुसाहेब टोलका ७६ वर्षीय जंगली मुर्मु आइतबार दिउँसो एक्लै टोलाएर बसेका थिए । मधुमेहका विरामी उनी शनिबार भएको आगलागीमा घरबारविहिन भएपछि खुल्ला चौरीमा छन् ।
हावाहुरीसँगै विद्युत सर्ट भएर उनीसहित छिमेकीका २० घर शनिबार दिउँसो जलेर खरानी भयो । औषधी खाने भनेर राखेको बृद्धभत्ता बापत प्राप्त १७ हजार रुपैयाँ पनि घरसँगै जलेको उनले सुनाए ।
‘अन्नपात आगोले जलाएर खरानी बनायो । नियमित खानुपर्ने औषधी पनि आगलागीले लिएर गयो,’ गहभरी आँसु झार्दै उनले खरानी भएको घर देखाउँदै भने, ‘अब औषधी के पैसाले किनेर खानु ?’
मुर्मुको ७ जनाको परिवार छ । आगलाजीले घर खरानी भएपछि उनी बाटोदेखि दक्षिणमा त्रिपाल टाँगेर रात कटाउँदैछन् । ‘आगजनी भएपछि निद्रा पनि लाग्दैन । दुःख गरेर आर्जेको सानो टहरा थियो । त्यो पनि हेर्दा–हेर्दै आफ्नै आँखा अगाडि क्षणभरमा खरानी भयो’ उनले भने, ‘बिपद् पनि हामी जस्तो दुःखीहरूलाई पर्दो रहेछ ।’
यसअघि अरुको बनिबुतो गरेर ओत लाग्ने सामान्य घर बनाएका उनी अहिले तनाबमा छन् । रंगेली नगरपालिका ३ मा २० घर जलेर खरानी भएपछि २८ परिवारका ११८ जना पीडितहरूको दिनचर्या कष्टकर बनेको छ । मुर्मु सामुदायका अग्नि पीडितहरूको आगलागीपछि त्रिपालमुनीको बास भएको छ ।
आगजनीबाट बिचल्ली परेका २८ घरपरिवारलाई खानका लागि राहत मिलेपनि बस्ने राम्रो व्यवस्था छैन । बालबालिका र महिलाहरू त्रिपालमुनी बस्नुपर्दा समस्या रहेको छ । आगलागीबाट महिला ३४, पुरुष ३५, बालिका २७, बालक २१ समलिंगी १ गरि ११८ जना घरवारविहिन भएका छन् ।
रंगेली ३ का ७० वर्षीय दुगड मुर्मुले आफूहरूको मुख्य चाहना घर उभ्याउने रहेको बताए । ‘त्रिपालमा बास बस्दा कष्टकर भइरहेको छ । हामीले दुःख सहन बाध्य भएका छौं । तर, साना नानीहरुलाई लामखुट्टेले टोकेर डाबर बनाएको छ,’ उनले भने, ‘केही दिनमा रोगले च्याप्न थाल्नेछ ।’
घरको खरानी हेर्दै त्रिपालमुनि बसेका पीडितहरु नयाँ घर उभ्याउन नसक्दासम्म कहालीलाग्दो आगलागी घटना बिर्सन सक्ने अवस्थामा छैनन् । ‘भएभरको जायजेथा खरानी भयो । मनमा पीडा हुन्छ, हातमा काम छैन,’ पीडित दुगडले भने, ‘धुले भुइँमा भात पकाएर भोक टार्न परेको छ । हावा चल्ने मौसम भएकाले त्रिपालभित्र पनि आगो लाग्ने जोखिम छ ।’
गाउँ नै दनदनी बलेको देखेका बालबालिकाहरु त्रसित छन् । ‘सुत्नका लागि घर छैन, आगजनीले खरानी भएको घर छेउमा त्रिपाल टाँगेर बसेका दुगडले भने, ‘निद्राबाट बिउँझिनासाथ केटाकेटीहरू आत्तिन्छन् । घर नबनाएसम्म यस्तै हुने होला, अन्त जाने ठाउँ छैन ।’
बालबालिकामा मात्र होइन, आगालागीपीडित सबैको मनमा डर छ । ‘अझै पनि मनको भकारो जलिरहेको छ, निभाउने पानी छैन, धूवाँ मात्र निस्कँदा पनि तर्सिने गरेका छौं,’ उनले भने, ‘२० मन तोरी ७ बोरा चामल आगलागीमा परि खरानी भयो । भएको सबै जेथा हेर्दा हेर्दै स्वाहा भयो ।’
आगो लागेपछि हुरी चलेर दुई घण्टामै सबै घर खरानी भएको अर्का अग्नीपीडित सुकले किस्कुले बताए । भएको सम्पत्ति सबै स्वाहा भएपछि आश गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
अग्नीपीडित रंगेली ३ मा सबैभन्दा बढी समस्यामा बालवालिका रहेका छन् । गाउँमै बनिबुतो गरेर परिवार पाल्दै आएका सन्थालहरुलाई अहिले छाक टार्न पनि समस्या छ । एकातिर हातमुख जोर्न दैनिक श्रम गर्नुपर्ने बाध्यता, अर्कोतिर परिवारकै त्रिपालमुनीको बास । उनीहरु दोहोरो तनाबमा छन् ।
किस्कु भन्छन्, ‘हामी ठुलो मान्छे र दुःख कष्ट सहेर रात कटउँछौं, साना केटाकेटीलाई समस्या भएको छ ।’ सबै लत्ता कपडा पनि जलेर खरानी भएपछि फेर्ने लुगासमेत नभएको उनले बताए । स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुले राहतमा त्रिपाल दिएकोले त्यसैमा बस्ने उनीहरुलाई लामखुट्टेले थप सताएको छ ।