उदयपुर दुर्घटनामा एकै परिवारका तीनसहित ८ जनाको मृत्यु , शोकमा डुब्यो हतुवागढी गाउँ

हतुवागढी गाउँपालिकाले दियो आज शोक बिदा

विराटनगर । बिहीबार बिहान उदयपुरको बेलकामा भएको बोलेरो जिप दुर्घटनामा एउटै परिवारका तीन जनासहित आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये भोजपुरको हतुवागढी गाउँपालिकाका सात जना छन् ।

दुर्घटनामा सात जनाको मृत्यु भएपछि हतुवागढी गाउँपालिका पूरै गाउँ शोकमा डुबेको छ । दुघर्टनामा हतुवागढी गाउँपालिकाका मात्र ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा हतुवागढी गाउँपालिका २ दितेनीका चन्द्रप्रकाश राई, पर्वतमाया राई, डिसाङ राई, हतुवागढी ५ रामकुमारी राई, किसन राई रहेका छन् । सवारी चालक हतुवागढी गाउँपालिका २ कै मानबहादुर बस्नेतको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । हतुवागढी गाउँपालिका ९ का पदमबहादुर थापा र सुनसरीको इटहरी घर भएकी कमला अधिकारीको पनि उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दितेनीका एकाघरका सदस्य ७० वर्षे पर्वतमाया राई, उनका २३ वर्षे छोरा चन्द्रप्रकाश राई र शान्तिकला राईको ६ महिने छोरा डिसाङ राईको उक्त दुर्घटनामा मृत्यु हुनु पुगेको थियो । गम्भीर घाइते भएकी ३२ वर्षे शान्तिकला राई पर्वतमायाकी छोरी हुन् । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । एउटै परिवारका तीन जनाको मृत्युले सिंगो दितेनी शोकमग्न बनेको छ ।

दुर्घटनामा हतुवागढी गाउँपालिका ५ का रामकुमारी राई र किसन राई, हतुवागढी गाउँपालिका ९ का पदमबहादुर थापाको पनि मृत्यू भएको छ । दुर्घटनाले सिंगो गाउँपालिकालाई भावविह्वल बनाएको हतुवागढी गाउँपालिका ९ का वडाध्यक्ष सञ्जल राईले बताए ।

सुनसरीबाट १६ जना यात्रु बोकेर भोजपुरको घोडेटारतर्फ जाँदैगरेको बोलेरो जिप अनियन्त्रित भई उदयपुरको बेलका नगरपालिका ७, मैनामैनीमा दुर्घटना भएको थियो । मैनामैनीको बाखेकुवा भन्ने भिरालो ठाउँबाट गाडी झण्डै ४०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । गाडीमा सवार अन्य ९ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

गम्भीर घाइते भएका हतुवागढी गाउँपालिका २ का किसन राईको उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको थियो ।

यस्तै हतुवागढी गाउँपालिकाले आज शोक बिदा दिएको छ । बिहीबार जीप दुर्घटनामा ८ जनाको ज्यान गएपछि गाउँपालिकाले आज शोक बिदा दिएको हो ।

दुर्घटनामा एकै परिवारका ३ सहित हतुवागढीका ७ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट मृत्यु हुने ८ मध्ये ७ जना हतुवागढी गाउँपालिकाका हुन् ।

‘दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरू अधिकांश हतुवागढी गाउँपालिकावासी रहेकोले दुःखद् दुर्घटनाप्रति शोक व्यक्त गर्दै मिति २०८०।१२।०२ गते शुक्रबारका दिन हतुवागढी गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरूमा १ दिन शोक बिदा दिने निर्णय (अध्यक्षस्तरीय) भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछौं,’गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

शुक्रबार, ०२ चैत, २०८०, बिहानको ०९:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर