झापामा सशस्त्र प्रहरी र स्थानीयको झडप हुँदा ९ जना घाइते

झापामा सशस्त्र प्रहरी र स्थानीयको झडप हुँदा ९ जना घाइते

विराटनगर । झापाको मेचीनगर ७ गैरीगाउँका स्थानीय र सशस्त्र प्रहरीको झडपमा ९ जना घाइते भएका छन् । तस्करी नियन्त्रण गर्ने विषयमा भएको विवादमा शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले हानेको स्थानीयले आरोप लगाएका छन् ।

खुकुरी प्रहारबाट दीपा बाँतरको हातको औंला काटिएको छ भने हरि बाँतरको छातीमा गहिरो चोट लागेको छ । यस्तै विशेष राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनन्द यादव घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बीएन्डसी अस्पताल विर्तामोड लगिएको छ । घटनाामा तीन सशस्त्र प्रहरी घाइते भएका छन् ।

काँकडभिट्टास्थित नेपाल–भारत सीमाको ९०२–९०३ नम्बर सीमा स्तम्भ नजिक घटना भएको हो । सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टरका एसपी कविन्द्र राईले तस्करी गर्ने समूहले प्रहरीमाथि आक्रमण गर्दा विवाद भई सामान्य हात हालाहाल भएको दाबी गरेका छन् । सशस्त्र प्रहरीमाथि घेरा हालेर स्थानीयले आक्रमण गर्न खोजेपछि घटना भएको उनको दावी छ ।

घाइतेमध्ये सशस्त्र प्रहरीका एक जवानको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले जानकारी दिए । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठको कमाण्डमा तस्करीको सामान चेकजाँचको लागि सो क्षेत्र पुगेको टोलीले भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको झण्डै १ लाख २० हजार बराबरको एक पोका लत्ताकपडा नियन्त्रणमा लिएपछि विवाद भउको बताइएको छ ।

सशस्त्र प्रहरीका डिआइजी अन्जनीकुमार पोखरेलका अनुसार घटनामा खुकुरी प्रहार भएको विषयमा छानविन भइरहेको छ । तस्करीको सामान ल्याउन सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमालको नेतृत्वमा थप ५ जनाको मोवाईल गस्ति टोली त्यस ठाउँमा खटिएर बरामद सामान बिओपिमा ल्याउने क्रममा स्थानीय र व्यापारीसहित दर्जनौं मानिसहरु भेला भएर सशस्त्रमाथि जाइलागेको उनले दावी गरेका छन् ।

सामान ल्याउने समूह र स्थानीयको ढुंगा प्रहारबाट सशस्त्र प्रहरीको गाडीको अगाडिको सिसा चर्केको र दाहिना साईडको साईड लाईटसमेत फुटेको बताइएको छ । सो समूहले ाडीमा आगजनी गर्ने प्रयास गर्नुको साथ बरामद भएको सामान खोसेपछि झडप भएको थियो ।

झडप भएको सूचनापछि थप मद्दतको लागि काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक कुशल राईको कमाण्डमा २३ जनाको टोली त्यस ठाउँ पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले गोली चलाउनुपर्ने अवस्था सिर्जना भएपनि संंयमता अपनाएको डिआईजी पोखरेलले दावी गरेका छन् ।

पीडितहरुले भने सशस्त्रले भाटैभाटाले कुटेपछि गाउँका मानिस भेला भएर पुग्दा ड्राइभरले गाडीबाट खुकुरी निकालेर प्रहार गरेको दावी गरेका छन् । घाइते हरि बाँतरका अनुसार प्रहरीले उद्दण्डता देखाएपछि घटना भएको हो ।