विराटनगर । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते निर्वाचनको मिति तोकिएको छ ।
उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट को उम्मेद्वार होला भन्ने चर्चा सुरु भएको छ । रास्वपाका एक नेताले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रमेश प्रसाईको चर्चा रहेको बताए ।
यसअघि रास्वपाले बैंकर अनिल केशरी, पत्रकार मिलन लिम्बूलगायतलाई उठाउने चर्चा हुँदै आएको थियो । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रसाईको नाम चर्चामा रहेको बताए । बुर्लाकोटीलाई रास्वपाले इलाम २ को उपनिर्वाचनको लागि कमाण्डर तोकेर पठाएको छ । ‘रमेश प्रसाईलाई उठाउनु पर्छ भन्ने ठूलै जमात छ । उहाँ झापा बस्ने भएको कारण इलामसँगको सम्बन्ध पनि राम्रो छ । पार्टीभित्रको साथीहरुको सुझाव पनि छ । तर, पार्टीले रमेश प्रसाईलाई उठाउने भन्ने कुनै मनस्थिति बनाएको छैन । सम्भवतः उपनिर्वाचनमा उहाँ उठ्नुहुन्न,’ बुर्लाकोटीले भने, ‘रमेश प्रसाई हुँदा इलाममा चुनाव जितिन्छ भन्ने इलाममै साथीहरूको पनि कुरा छ ।’
उता, प्रसाई आफैं पनि सो क्षेत्रमा जनजाति उम्मेद्वार उठाउनु पर्ने आफ्नो धारणा रहेको बताउँछन् । ‘मेरो व्यक्तिगत विचारमा पार्टी शतप्रतिशत समावेशी हुनुपर्छ । इलाम २ को उम्मेद्वार छनौट गर्दा त्यो निर्वाचन क्षेत्रका स्थानीयले अपनत्व ग्रहण गर्ने खालको उम्मेद्वार छानिनुपर्छ भन्ने मेरो दृढ दृष्टिकोण हो । अझै स्पष्ट रुपमा भन्दा आदिवासी जनजाति समुदायको उम्मेद्वार हुनुपर्छ भन्ने मेरो धारणा हो । मेरो व्यक्तिगत हित भन्दा संगठनको वृहत्तर हित हेर्नुपर्छ भन्ने मेरो धारणा हो,’ प्रसाईले भने ।
यद्यपि पार्टीले टिकट दिने निर्णय गरेको खण्डमा आफू जाने र जनप्रतिनिधि बन्ने सपना आफ्नो पनि रहेको उनले बताए । ‘पार्टीको आधिकारिक निर्णय भएको होइन । सम्भावित नामको विषयमा छलफल भएको हो । त्यसक्रममा मेरो नाम पनि आएको भन्ने सुन्नमा आएको हो । म त्यो छलफलमा थिइन । म पार्टीको निष्ठावान सदस्य हो । राजनीतिमा कुनै पनि व्यक्ति हामफाल्दा जनप्रतिनिधिको रुपमा उभिने सपना देखेको हुन्छ । पार्टीले निर्णय गर्यो भने म जिम्मेवार सदस्यको हिसावले स्वीकार गर्छु,’ प्रसाईले भने ।
उता, रास्वपा सहमहामन्त्री बुर्लाकोटीले पार्टीले गरेको अनौपचारिक सर्भेक्षणमा आफ्नो पार्टीले जित्ने दाबी गरे । ‘कुनै व्यक्तिको विषयमा मत सर्भेक्षण गरेको होइन । पार्टीको अवस्थाको विषयमा अनौपचारिक सर्भेक्षण गर्यौं । हाम्रो राम्रो अवस्था देखियो,’ उनले भने । रास्वपाले एमालेसँग तालमेल गर्ने भन्ने हल्ला आइरहेको विषयमा उनले अस्वीकार गरे । ‘हाम्रो उम्मेद्वारलाई समर्थन गर्ने अवस्था भए हामी समर्थन लिन्छौं । तर, अरुलाई हामी स्वीकार गर्दैनौं,’ उनले भने । इलाम २ को उपनिर्वाचनका लागि यसअघि प्रतिस्पर्धामा रहेका एमाले र काँग्रेसका आन्तरिम कमिटीहरु चुनावलक्षित सांगठनिक तयारी गरिरहेका छन् । माओवादी केन्द्रले पनि यसपटक एक्लै चुनावी मैदानमा उत्रने जनाएको छ । पहिचानवादीहरु पनि यसपटक एकताबद्ध भएर जानेगरी लागेका छन् ।
एमालेले सो क्षेत्रबाट सुवास नेम्वाङको व्यक्तित्वलाई प्रयोग गर्दै अविराम विजय हासिल गरिरहेको छ । काँग्रेस भने नेम्वाङसँग सँधै पराजित बन्दै आएको छ । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङ नेम्वाङसँगै पराजित बने । २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसकै केशव थापा, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै तत्कालिन महासमिति सदस्य भेषराज आचार्य पनि नेम्वाङबाटै पराजित बने । २०७४ सालमा फेरि उनै आचार्यलाई पराजित गरेका नम्वाङले ०७९ सालको निर्वाचनमा काँग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई पराजित गरेका हुन् ।
एमाले स्रोतका अनुसार उक्त निर्वाचन क्षेत्रमा नेम्वाङका छोरा सुहाङ नेम्वाङको बढी चर्चा छ । यस्तै एमालेबाट नेताहरु उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रविन्द्र सुवेदीलगायतको चर्चा छ । एमालेको दह्रो आधार क्षेत्र रहेको उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्नेको ताँती नै रहेको स्थानीय बताउँछन् ।
उता, काँग्रेसबाट यसपटक उम्मेद्वार बन्ने सम्भावना रहेका नेता उनै डम्बरबहादुर खड्का हुन् । काँग्रेस इलामका सभापति समेत रहेका खड्का ०७९ को निर्वाचनमा नेम्वाङसँग थोरै मतले हारेका थिए । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । यसपटक पनि उनै खड्काको बढी सम्भावना रहेको काँग्रेस स्रोत बताउँछ । काँग्रेसका उम्मेद्वार खड्काले २०७९ सालमा माओवादी, नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेका थिए ।
उता, पहिचानवादीले पनि यस पटक एकताबद्ध भएर नयाँ उम्मेद्वार उठाउने तयारी गरेको छ । पहिचानवादीहरुको तर्फबाट १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केबी पालुङ्वा र लिम्बुवानका नेता कुमार लिङ्देन उम्मेद्वारको आकांक्षी छन् । उता, आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले भने आफू स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रने बताएका छन् । आफूलाई पहिचानवादीहरुले पनि सहयोग गर्ने उनको दाबी छ ।
इलामको २ नम्बर निर्वाचन क्षेत्र पहिचानको आन्दोलनमा होमिनेहरुको प्रभाव क्षेत्र पनि हो । पहिचानवादीको आन्दोलनको अवस्था हेर्दा चाहिं यसपटक काँग्रेस एमालेलाई गाह्रो पर्ने देखिन्छ । तर, भोटको समयमा उनीहरूले के गर्छन् ? त्यो भने हेर्न बाँकी छ । यदि पहिचानवादीहरु एकताबद्ध भएको अवस्थामा चुनावी परिणामले धेरै बदलाव ल्याउन सक्ने स्थानीयहरु बताउँछन् ।