विराटनगर । श्रीमतीलाई अर्कैसँग विवाह गराइदिएको आरोपमा भान्जाले आफ्नै माइजुलाई खुकुरी प्रहार गरेका छन् । मोरङको लेटाङ नगरपालिका–१ का ५२ वर्षीय नीरकुमार राईले आफ्नै माइजू र बहिनिलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् ।
नीरकुमारले बिहीबार बिहान केराबारी–९ भलुवामा रहेको मामाघरमा पुगेर माइजुलाई खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।
खुकुरी प्रहारबाट जमुनादेवी र उनकी छोरी २५ वर्षीय रेणुका राई घाइते भएका छन् । घाइते दुवैको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नीरकुमार मामा घरमै बसेर बाल्यकाल विताएका थिए । ‘केहि वर्ष अगाडी मामा गाउँकै एक युवतिसँग विवाह गरेर श्रीमितलाई त्यहि छाडेर वैदेशिक रोजगारीमा गएका रहेछन्,’प्रहरी निरीक्षक दाहालले भने ‘फर्कँदा श्रीमती नभएपछि माइजूले अर्कैसँग विवाह गराएको भनेर विवाद गरेको देखिन्छ । ’
माइजू र भान्जाबिच पहिल्यैदेखि नै मनमुटाब रहेको खुलेको प्रहरीले जनाएको छ । निरकुमार एकथान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन ४ राउन्ड बोकेर माइजू जमुनादेवीको घरमा पुगेको थिए । प्रहरीले ‘मेड इन चाइना’ लेखेको अर्काे नक्कली पेस्तोलसमेत बरामद गरेको छ । हत्या गर्ने योजना बनाएर सुरुमा माइजू जमुनादेवीलाई खुकुरीले प्रहार गरेको र छुट्ट्याउन जाँदा मामा कि छोरी रेणुकालाई पनि खुकुरीले प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनले पेस्तोल ताक्न थालेपछि मामा घरका अन्य परिवारका सदस्यले प्रतिकार गरेपछि निर बहादुर समेत घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट सक्कली र नक्कली पेस्तोल, खुकुरी लगायतका हातहतियार बरामद गरेको जनाएको छ ।
खुकुरी प्रहारबाट जमुनादेवी र रेणुकाको टाउको, अनुहार लगायतका भागमा गहिरो चोट लागेको छ भने निर बहादुरको टाउकोमा चोट लागेको छ । तिनै जना खतरामुक्त रहेको प्रहरीले जनाएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि थप खुल्ने प्रहरीले जनाएको छ ।