काठमाडौं । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पुरक जाहेरी दिएका छन् ।
पीडितहरूले दिएको जाहेरी सोमबार प्रहरीले स्वीकार गरेको हो । पूरक जाहेरीमा लामिछाने र पुनसँगै सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजनको नामसमेत थपिएको छ ।
सुदर्शन सहकारी पीडित समूहका संयोजक किरण श्रेष्ठले लामिछानेसहित १८ जनाको नाम थप गरेर दिएको जाहेरी प्रहरीले स्वीकार गरको बताए । सहकारीको रकम अपचलनमा संलग्न जो–जो देखिएका छन्, उनीहरुको भूमिकाबारे समेत अनुसन्धान होस् भनेर जाहेरी दिएको उनले बताए ।
ठगी प्रकरणमा पहिले भएको अनुसन्धान निकै फितलो देखिएपछि पीडितहरुले पूरक अनुसन्धान गर्न माग राख्दै आएका थिए । प्रहरीले पूरक जाहेरी स्वीकार गरेकोले अब विस्तृत अनुसन्धान हुने आस लागेको पीडितको भनाइ छ ।
सहकारी ठगीमा प्रहरीले यस अगाडि नै अनुसन्धान गरेर १९ जनालाई प्रतिवादी बनाउन दिएको रायसुझाव अनुसार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोग पत्र दर्ता गरिसकेको छ । सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र (जीवी) राई, कोषाध्यक्ष कुमार रम्तेलसहित १९ जना विरुद्ध परेको अभियोग पत्र अनुसार अहिले रम्तेलसहित ३ जना पक्राउ परेर पुर्पक्षका लागि थुनामा गइसकेका छन् भने जीवीसहित १६ जना अझै फरार छन् ।
सुर्यदर्शन सहकारीका १८ हजार बचतकर्ताको डेढ अर्ब बढी रकम अपचलन गरेको उनीहरूमाथि अभियोग छ । सहकारीको रकम ग्यालेक्सी टेलिभिजनको नाममा निकालेको, पुलेको कर्जा निकालिएको देखिएको लगायतका रवि जोडिएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईले सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा झिकेको छानबिन प्रतिवेदनले देखाएको थियो ।
सुर्यदर्शनबाट ग्यालेक्सीको माउसंस्था गोर्खा मिडिया प्रालिको नाममा रकम निकासा हुँदा रवि सो कम्पनीको लगानीकर्ता र प्रबन्ध निर्देशक थिए ।पीडितहरूले पूरक जाहेरीमा गोर्खा मिडिया प्रालिसहित जीवी संलग्न नेचर हर्बस्स लगायतका कम्पनीमाथि समेत कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्सीका एसपी मोहन थापाले यो प्रकरणमा रविसहित १८ जनाविरुद्ध पुरक जाहेरी परेको जानकारी दिए । अब त्यसबारे अनुसन्धान हुने जानकारी दिँदै उनले दोषी देखिएका मानिसहरूविरुद्ध पुरक प्रतिवेदन अदालत जाने बताए ।
सहकारीपीडितले आइतबार नै जाहेरी दर्ता गराउन चाहेका थिए । तर, कास्की प्रहरीले पुरक निवेदन दिए दर्ता गर्न नपर्ने भनेर फर्काएको थियो । जिल्ला अदालत, कास्कीमा दर्ता सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ ।