इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने उद्देश्यले सर्वसाधारणलाई आतंकित बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुटपाटको योजना बनाइरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए ।
पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी ५ का ३० वर्षीय दावा छिरिङ शेर्पा र मोरङको बिराटनगर महानगरपालिका १५ का ३५ वर्षीय शिरिस बोहरा रहेको डीएसपी भण्डारीले बताए । पक्राउ परेका बोहोराको साथबाट मेड इन चाइना लेखिएको नक्कली पेस्तोल बरामत गरिएको प्रहरीले जनाएको छ ।
दुबै जनालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कानुनी कारवाहीका प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।