काठमाडौं । हिजो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन दलहरूको बैठक निष्कर्षविहीन टुंगिए पछि फेरि आज बिहान बस्ने भएको छ।
बालुवाटारमा हिजो साँझ ४ बजेदेखि मध्य राति १२ बजेसम्म बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा नमिलेको हो।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
लेखकका अनुसार आज बिहान बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने छ।
राष्ट्रिय सभामा रिक्त सिटभन्दा बढी दाबी गरेका हुन्। उनीहरूको दाबीअनुसार १९ सिटका लागि २६ पुगेको छ। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका थिए।
सातै प्रदेशमा पुस २३ मा उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।