विराटनगर । विराटनगर महानगरपालिका १९ बैजनाथपुरमा जम्मा ३१ इञ्च मात्र उचाई भएका व्यक्ति रहेको पाइएको छ । सुकुम्बासी बस्तीमा हुर्केका सिता सरदार र नकुल सरदारका २६ वर्षीय छोरा प्रकाश सरदारको उचाई मात्र ३१ इञ्च रहेको प्रमाणित भएको छ ।
उनीहरुका जेठा छोरा श्यामसुन्दर, माईला प्रकाश र कान्छा विकास गरि तीन छोरा छन् । प्रकाशको उचाई असामान्य र शाररिक असमर्थ भएको कारण उनी केहि काम गर्न सक्दैनन् । उनी दिनभरी गाउँघरको बाटोछेउमा टोलाएर बसेको देखिन्छन् ।
प्रकाश हिँड्न र बोल्न सक्छन् । तर, अन्य सामान्य बच्चा जस्तो खेलकुद गर्न सक्दैनन् । उनी जन्मिन्दा सामान्य रहेको भएपनि पछि गएर शरिरमा समस्या देखा पर्न थालेको उनकी आमा सिता सरदारले जानकारी दिइन् । प्रकाशको बुबाको क्यान्सरका कारण निधन भइसकेको छ ।
प्रकाशको ठुलो दाई र आमा अरुको घरमा ज्याला मजदुरी गरेर घरपरिवार चलाउँदै आएका छन् । उमेर बढेसँगै प्रकाशको पिठ्यु र छातीको भाग बढ्न थालेपछि उनकी आमा चिन्तित देखिन्छिन् ।
गरिब परिवारमा हुर्केका प्रकाशलाई उपचार गर्नका लागि आर्थिक समस्या भएको कारण उपचार गर्न नसकेको सिता सरदारले बताइन् । केहि समय पहिला विराटनगर महानगपालिकाका मेयर स्वयम् प्रकाशलाई भेट्न उनको घर पुगेका थिए । नगरपालिकाले मासिक तीन हजार अपाङ्गता भत्ता दिँदै आएको छ ।