प्रसाईको हल्ला मात्र ठूलो भएको प्रशासनको निश्कर्ष

विराटनगर । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनमा कोशी प्रदेशबाट १ हजारदेखि १५ सयसम्म मानिस जानसक्ने अनुमान सुरक्षा निकायले गरेको छ ।

प्रसाईले घोषणा गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को नाममा मंसिर ७ गते लाखौं मानिसले प्रदर्शन गर्ने दाबी गरेपनि उनको हल्ला मात्र ठूलो रहेको प्रशासनको विश्लेषण छ ।

प्रसाईले झापामा सोमबार गरेको एक कार्यक्रममा करिब २ सय जना उपस्थित थिए । ‘आफ्नै कोर एरियामा गरेको सोमबारको कार्यक्रममा त मान्छे आएनन् । कहाँबाट काठमाडौं जान्छन् त्यत्रो मान्छे ?,’ सुरक्षा निकायका एक अधिकारीले भने, ‘आज झापाको सुरुङ्गामा गरेको कार्यक्रममा अधिकतम २ सय मानिस थिए ।’

प्रसाईको समर्थकबाहेक अराजकता पैदा गर्न चाहने समूहहरु पनि प्रदर्शनमा सहभागी हुनसक्ने अनुमानको आधारमा सुरक्षा निकाय सचेत भने रहेको छ । काठमाडौंको सहभागीताको हिसावले १०–१५ हजार मानिस सहभागी हुनसक्ने सुरक्षा निकायको ठहर छ । अरु सबै उनका हावादारी गफ मात्र भएको सुरक्षा निकायका एक अधिकृतले दावी गरेका छन् ।

ठूला पार्टी तथा नेताहरुले प्रसाईको विषयलाई महत्व दिनु चै गलत भएको सुरक्षा निकायको ठम्याई छ । ‘उसलाई जसरी स्पेस दिन खोजिएको छ । यो उसलाई नेता बनाउने प्रयास हो,’ ती सुरक्षा अधिकृतले भने, ‘नेताहरु किन डराएका हुन् ? मैले बुझ्नै सकेको छैन ।’

प्रसाईको अभियानका केन्द्रीय सदस्य तथा झापा सचिवालयका संयोजक देवी संग्रौलाले भने झापा, मोरङ र सुनसरीबाट मात्रै डेढ लाख मानिस काठमाडौं जाने दाबी गरेका छन् । ‘झापा, मोरङ र सुनसरीबाट डेढ लाख मानिस जान्छन् । आन्दोलन स्वतः स्फूर्त हुन्छ । जनताले कुखुराको अण्डा, धान, साग, भक्का बेचेर आन्दोलनमा जानेछन्’ उनको दावी छ, ‘अहिलेसम्म ४९५ गाडी मानिस गइसके, १५ सय बाइकमा मान्छे जान्छन् ।’ उनले साना गाडी ३ सयको हाराहारी जाने दावी गरेका छन् ।

ठूला बसहरु १६ सय वटामा मानिस काठमाडौं जाने संग्रौलाको दावी छ । प्रसाइँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय काठमाडौं प्रशासनले गरिसकेको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिएको हो ।

उता, गृहमन्त्रालयले भने दुर्गा प्रसाईँले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउनसक्ने आँकलन गरेको । युवा संघले १५ हजार मानिस उतार्ने आँकलन गृह प्रशासनको छ ।

दुवै पक्षले माइतीघरमा कार्यक्रममा राख्दा झडप हुने सम्भावना भएकोले सो क्षेत्रमा मंसिर ७ गते निषेधाज्ञा जारी गर्ने सरकारको तयारी छ ।

सोमबार, ०४ मंसिर, २०८०, साँझको ०६:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page