काठमाडौं । नेकपा एमालेले सुन प्रकरणमा सरकारले गरिरहेको अनुसन्धानप्रति विश्वास नरहेको भन्दै प्रतिनिधिसभामा अबरोध जारी राख्ने बताएपछि सोमबारको लागि तय भएको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सभामुखको कार्यकक्षमा छलफल भएपनि सहमति नजुटेपछि सूचना टाँसेर बैठक स्थगित भएको हो ।
संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो ।
सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको थियो । अहिले सरकारले थप अनुसन्धानको लागि नेपाल प्रहरीको सिआईबीलाई जिम्मा लगाएको छ ।
एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ । सरकारले भने अधिकारप्राप्त सरकारी निकायले छानविन गरिरहेकोले त्यसमा अर्को समिति गठन गर्नुको औचित्य नरहेको बताएको छ ।
एमालेले सुन प्रकरणमा १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
सोमबार दिउँसो साढे १२ बजे बसेको बैठकमा सहमति नजुटेपछि नेताहरु साढे ३ बजे फेरि बैठक बस्ने गरी उठेका थिए । त्यसपछि संसद बैठक पनि सूचना टाँसेर ४ बजेका लागि सारिएको थियो । अपरान्ह ४ बजे बसेको शीर्ष नेताको बैठकले पनि संसदको अवरोध खोल्ने ठोस सहमति नभएपछि बैठक मंगलबारसम्मलाई सारिएको हो ।