विराटनगर । गठबन्धन दलहरुले नयाँ सरकार बन्न जोड गरिरहेको वेला कांग्रेसका केही नेताले भने एमालेसँग मिल्नुपर्ने भन्दै लविइङ गरेको कांग्रेसकै एक प्रभावशाली नेताले बताएका छन् ।
पुस १० अगाडि संघीय सरकारमा माओवादीलाई प्रधानमन्त्री नदिने बरु एमालेसँग मिल्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन लाग्ने नेताहरु नै कोशी प्रदेशमा एमालेसँग छलफलमा रहेको कांग्रेसका एक नेताले बताए । ‘संघीय सरकारमा एमालेले समर्थन गर्ने गलत ब्रिफिङ गर्दै सभापति देउवासँग गएर पुस १० को घटना गराउनेहरु कोशी प्रदेशमा पनि त्यही नियति दोहो¥याउने प्रयासमा लागेका छन्,’ उनले भने, ‘त्यस्तो परिस्थिति सिर्जना भए कांग्रेसले दोस्रो गल्ती गर्नेछ ।’
कांग्रेसका कतिपय नेताले त्यसवेला संघीय सरकारमा प्रधानमन्त्री आफ्नो पार्टीले पाउने र एमालेले समर्थन गर्ने भन्दै माओवादी बाहेकको सरकार निर्माण गर्ने कोसिस गरेका थिए । त्यसका सुत्रधार मध्येका एक ज्ञानेन्द्रबहादुर कार्कीले कोशी प्रदेशमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् एमालेसँग मिल्ने प्रस्ताव गरेको कांग्रेस वृत्तमै चर्चा छ । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
यसअघि कोशी प्रदेश सरकारमा एमालेसँग मिल्नका लागि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि लागेका थिए । उनीहरुको प्रयास यसअघि नै असफल भएको थियो । गठबन्धनका एक नेताकाअनुसार एमाले सरकारमा सहभागी भएको माओवादीलाई राजीनामा दिन दबाब दिएर पुनः एमालेसँग मिल्ने प्रयास गर्ने कांग्रेसको प्रयास गैरराजनीतिक रहेको टिप्पणी गरे । ‘कांग्रेसका कतिपय नेताहरु एमालेसँग मिल्न लागेको भन्ने सुनेको छु,’ उनले भने, ‘यो गैर राजनीतिक चरित्र हो । कांग्रेसले त्यसो गर्न मिल्दैन र हुँदैन ।’