सवारी दुर्घटना भयावह बन्दै, बर्सेनि ८० प्रतिशत दुर्घटना वृद्धि

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु भएको छ । १४ जिल्ला रहेको कोशीमा मंगलबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरु भएको हो ।

उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गरे । सप्ताहको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तर दिनुपर्ने बताए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनले बताए । यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताए । भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको उनले बताए ।

प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा ३७३ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । २०७६/७७ मा ३३२ जना २०७७/७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम कुमार महतोले जानकारी दिए ।

गत वर्ष मात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामा परी ५३१ जनाको मृत्यु भएको उनले बताए । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइते र ५ हजार ३३५ जना सामान्य घाइते भएका छन् । उनका अनुसार बर्सेनि ८० प्रतिशत दुर्घटना वृद्धि भएको उनले बताए । अधिकांश सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि प्रमुख कारणको रूपमा रहेको उनले बताए ।

चालक र सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उनले बताए । ‘दुर्घटनाको मानवीय कारणहरूको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण देखिएको छ । १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी चलाउँदा र ७ प्रतिशत दुर्घटना चालक अनुमति पत्र नलिएर दुर्घटना भएको देखिएको छ,’ उनले भने, ‘१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताहरूले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको छ । ’ यसरी भएको दुर्घटनालाई नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, इ रिक्सा तथा टेम्पु र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधनहरूको संलग्नता रहेको एसपी महत्त्वले जानकारी गराए । ‘सवारी साधनका चालकहरू र सडक प्रयोगकर्ताले ट्राफिक नियमको पालना नगर्नु दण्डनीय कसुर हो भनी आत्मसाथ गरी ट्राफिक नियमको पालनामा पूर्ण प्रतिबद्धता हुन सकेको खण्डमा मात्र दुर्घटना न्यूनीकरणतर्फ आशातीत सफलता प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक र्‍याली निकालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको स्थानीय संयोजनमा भएको निक्लिएको र्‍याली महेन्द्र चोक हुँदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रम भएको थियो ।

ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन पेटी तथा जेब्रा क्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गति कम गर्न प्रेरित गर्ने तथा जेब्रा क्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, तेस्रो दिन पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।

तेस्रो दिन स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ट्राफिक सङ्केतका बोर्डहरू राख्ने, सडकमा राखिएका निर्माण सामाग्रीहरू हटाउने र सडकमा भएका खाल्डा खुल्डीहरूलाई सरोकारवाला निकायहरू सँग समन्वय गरी मर्मत गर्न लगाउने कार्यक्रम रहेको छ । यस्तै चौथो दिन विराटनगर बसपार्कमा सवारी चालकहरूलाई सचेतना कार्यक्रम र पाँचौँ दिन सचेतना, छैटौँ दिन चालकको स्वास्थ्य जाँच र सवारीको यान्त्रिक चेकजाँच र अन्तिम दिन अन्तर्क्रिया कार्यक्रम गर्दै समापन गरिने ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए

मङ्गलबार, १९ असार, २०८०, दिउँसोको ०४:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर