काठमाडौं । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा आयोजित प्रतियोगिताको नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलव ५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता खेल्न सकेनन् ।
नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र खर्चिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।
अविजित ११२ को योगदान गरेका नेपालका नरेन भट्टले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे ।
मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक÷एक विकेट लिए ।
यस संस्करणमा नेपाल अपराजित रुपमा च्याम्पियन भएको हो ।