विराटनगर । नक्कली भूटानी शरणार्थीको मुद्दामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहमा संलग्न रहेको आरोपमा आशिष बुढाथोकीलाई सोमबार काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले बताए। उनी फरार सुचिमा रहेका थिए ।
पिडितले बुढाथोकीको खातामा नौ लाख ९९ हजार रुपैयाँ जम्मा गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
३० जना विरुद्ध मुद्दा दर्ता गरिएकोमा १८ जना पक्राउ परिसकेका छन्। उनीहरूलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि जेल पठाइसकेको छ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, रामबहादुर थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, पूर्व सांसद आङ्टावा शेर्पा जेलमा छन्।
दुई जनालाई भने जिल्ला अदालतले पुर्पक्षका लागि धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
बुढाथोकी पक्राउ परेसंगै पुर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक सहित ११ जना अझै फरार छन्।
यो प्रकरणमा संलग्न ३० जना विरुद्ध संगठित अपराध, कीर्ते र राज्य विरुद्धको अपराध सहित चार वटा मुद्दा लगाइएको छ।