अलपत्र हुलाकी सडक बनाउन माग राख्दै जनप्रतिनिधिहरु अनसन बस्ने

विराटनगर । चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मोरङ हुलाकी सडक निर्माण गरिनुपर्ने माग राख्दै जनप्रतिनधीहरू  अनसन थाल्ने भएका छन् ।

तराई मधेसलाई यातायातमार्फत पूर्व–पश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुस्त हुँदा स्थानीयलाई सास्ती भएको भन्दै कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरु बिहीबारबाट अनसन सुरु गर्ने भएका हुन् ।

हुलाकी सडक निर्माण  सुरु भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य पुरा नभएको भन्दै कटहरी गाउँपालिका ३ का जनप्रतिनिधिहरु अनसन बस्ने विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।  कटहरी ३ का वडाध्यक्ष जद्धुलाल  कामत, वडा सदस्यहरू वल्सी दास तत्मा, शंकर पासवान, दुखनी कुमारी पासवान र सुलेखा देवी गनगाईले अनसन बस्ने बताएका हुन् ।

‘विराटनगरको हाट खोलादेखि कटहरी हुँदै रङेली भएर झापासम्म पुग्ने हुलाकी सडक निर्माणको कार्य सुरु भएको चार वर्ष बितिसक्यो । अहिलेसम्म निर्माण कार्य सुस्त छ,’ वडाध्यक्ष कामतले भने, ‘सडक कारणले कटहरी गाउँपालिका भित्र पर्ने सडकमा दुर्घटना गरी तीन जनाले ज्यान गुमाइसकेका छन् । दुर्घटना हुनु मुख्य कारण भनेकै सडक समयमै निर्माण नहुनु हो । निर्माणधिन  सडकको खाल्टा खुल्टीको कारण दुर्घटना भएर ज्यान धेरैको गइसक्यो ।’ ठेकेदारलाई पटक पटक निर्माणको लागि आग्रह गर्दा पनि बेवास्ता गरेको कारणले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए । ‘समयमै सडक बनाउन माग गर्दा अहिले कटहरीका पाँच युवालाई मुद्दा हाल्ने प्रयत्न भएको छ,’ उनले भने, ‘एक जनालाई पक्राउ गरी अहिले मोरङ प्रहरीको हिरासतमा रहेका छन् । समयमै सडक बनाउन माग राख्दा यसरी प्रहरीले पक्राउ गरी ज्यादती गरेको छ ।’ पक्राउ परेका राजेश कामतलाई तत्काल रिहा गरिनुपर्ने उनले बताए । ‘कटहरी गाउँपालिका अध्यक्षले सडक हुलाकी सडक निर्माणमा कुनै पनि पहल कदमी नगरेको कारण बाध्य भएर हामी आन्दोलनमा उत्रिनु परेको हो,’ वडाध्यक्ष कामतले भने ।

राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । निर्माण सुरु भएको चार वर्ष भइसक्दा पनि पुरा हुने छाँटकाँट छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा  ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति त्यसको आधा मात्रै छ । निर्माण व्यवसायीको हेलचेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नु परेको छ । सडक कहिले निर्माण सम्पन्न हुने हो टुङ्गो छैन । संघ, प्रदेश र स्थानीय सरकारले यो विषयमा खासै चासो देखाएको छैन । नागरिक दबाब परे अनुगमन गर्ने नत्र चुपचाप बस्ने प्रवृत्तिले निर्माण सुरु भएको लामो समयसम्म सडक भद्रगोल बनेको हो ।

सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मोरङ कटहरी गाउँपालिका २ का स्थानीय रत्न मण्डलले बताए । समयमै सडक नबन्दा खानामा धुलो खान बाध्य भएको उनले सुनाए ।

‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ,’ उनले भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’

एक महिनायता सडकको काम ठप्प पारेका छन् । बिना जानकारी सडक ठप्प पारेर बेपत्ता उनीहरू हुलाकी सडक आयोजना कोसमेत सम्पर्कमा छैनन् । बनाउँदा–बनाउँदैको सडक अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारहरूको लापरबाही र उनीहरूका अघि राज्य संयन्त्रको कमजोरीले सर्वसाधारण वर्षौँदेखि समस्या भोग्न विवश बनेका छन् ।

मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रक खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ ।  २०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कार्तिकसम्म पु¥याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ ।

सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ ।

ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँच वटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।

बुधबार, ०६ असार, २०८०, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर