विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले झापाको दमकस्थित ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई दमकका प्रमुख हुतराज चौहानसहित तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
आयोजना प्रमुख सि.डि.इ. चौहानसहित इन्जिनियर कुमार शर्मा र लेखापाल हिमाल पौडेल पक्राउ परेका हुन् ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट लिएको ४ लाख रुपैयाँ नगद र स्रोत नखुलेको थप नगद २ लाख २२ हजार २८० रुपैयाँ गरी ६ लाख २२ हजार २८० रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
कार्यालय परिसरबाट तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले झापासहित पूर्वी नेपालमा एसियालि विकास बैंकको लगानीमा रहेका बिभिन्न सडक आयोजनाहरुको कार्यान्वयन गर्ने गरेको छ ।