विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेका छन् ।
कुटपिट गर्दा झापाको नकलवन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्त कुमार राई घाइते भएका हुन् ।
कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरीले मिलेमतो गरेर गोरु तस्करी गराएको आरोप लगाउँदै प्रहरी निरीक्षक राईसहितको समूहले कुटपिट गरेको आरोप छ । मङ्गलवार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट इन्स्पेक्टर राईसहित सशस्त्र प्रहरी जवान राम सुन्दर तामाङ, जीवन बास्तोलाका टोलीले प्रहरी हवलदारसहित चार जनामाथि कुटपिट गरेका हुन् । मेचीनगर नगरपालिका–४ नकलबन्दास्थित बिओपीमा खटिएका सशस्त्र प्रहरीहरूमाथि इन्स्पेक्टर राईले सीमा नाकामा गडबड भइरहेको भन्दै कुटपिट गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम कार्कीले जानकारी दिए । निरीक्षण गर्दै हिँडेको इन्स्पेक्टरको टोलीले कार्यालयभित्रै कुटपिट गरेका भने होइनन् । इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेका थिए ।
सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए । सादा पोसाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेका थिए ।
‘प्रहरीलाई कुटिरहेको देखेपछि स्थानीयहरू पनि उर्लिए । स्थानीयले पनि प्रतिकार गर्दै इन्स्पेक्टरको टोलीमाथि आक्रमण गरेका थिए । पछि नेपाल प्रहरी आएर घटनाबारे बुझाएपछि साम्य भएको थियो,’ प्रमुख जिल्ला अधिकारी काकीले भने,‘दुई सय बढी मान्छे भेला भएका थिए । निरीक्षणका लागि आएको टोलीले गाडी नै पल्टाइदिएका थिए ।’घटना बाहिरिएपछि सशस्त्र प्रहरीले पनि छानबिन गर्न समिति बनाएको छ । बाहिनीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति बनेको छ ।
कुटपिट गर्ने प्रहरी निरीक्षक राई विवादित प्रहरी अधिकृत हुन् । उनी यसअघि मोरङ पनि बसेका थिए । बिओपी सिक्टीको इन्चार्ज भएर राई बस्दा मोरङको दक्षिणी क्षेत्रबाट तस्करी गराएको आरोपमा विवादमा परेका अधिकृत हुन् । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेल आएपछि राईलाई घुमुवा प्रहरीको इन्चार्ज राखेका हुन् । प्रहरी निरीक्षक राई तस्करीको लाइन मार्फत आएको रकम संकलन गर्ने गरेको सुरक्षा स्रोतको भनाई छ । ‘तराईको झापा, सुनसरी र मोरङको दक्षिणी क्षेत्रमा पुगेर पनि तस्करी गराएको भन्दै बिओपी इन्चार्जहरूसँग पनि रकम मागेर हैरान दिएका छन्,’ एक जना विओपी इन्चार्जले भने ।
घटना विषयमा बुझन डिआइजी पोखरेलसँग बारम्बार समर्पक गर्न खोज्दा पनि उनी समर्पकमा आएन ।