नागरिकता माग्दै मोरङका युवकद्वारा आत्मदाह प्रयास

विराटनगर । नागरिकता माग गर्दै मोरङका एक युवकले मंगलबार आत्मदाहको प्रयास गरेका छन् ।

मोरङ कटहरीका निरजकुमार कामतले काठमाडौंको माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेपछि जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्ताले नागरिकता पाउन सकेका छैनन् । सर्बोच्चको आदेशपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा आन्दोलन गर्दै आइरहेको छ ।

नागरिकताविहीन युवकले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए । आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले कामतलाई उद्धार गरेको थियो । उद्धारपछि कामतलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिटमाथि सर्बोच्चमा आज सुनुवाइ तोकिएको भएपनि हेर्न नभ्याइने भएपछि युवकले उक्त कदम चालेको बताइएको छ।

मङ्गलबार, ३० जेठ, २०८०, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर