विराटनगर । कोशी प्रदेशमा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । स्वयं सरकारका मुख्यमन्त्री कार्की तथा प्रवक्ता भक्ति सिटौलाले पनि सरकार अल्पमतमा परेको कारण विश्वासको मत लिने प्रयास गर्ने बताएका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले आफ्नै नेतृत्वमा बजेट आउने र विश्वासको मत लिने प्रयास गर्ने बताएका हुन् । ‘आगामी आर्थिक वर्षको बजेट पनि आउँछ,’ उनले अब के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भने, ‘संवैधानिक र कानूनी हिसावले म अल्पमतमा पुगेको छु । विश्वासको मत लिने प्रयास गर्छु ।’
सरकारका प्रवक्ता एवं कृषिमन्त्री तथा राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले पनि विश्वासको मत लिन आफूहरुले प्रयास गर्ने बताएका छन् । प्रदेशसभा सचिवालयमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो दलले अहिलेकै सरकारलाई विश्वासको मत दिने संकेत पनि गरे ।
‘समर्थन फिर्ताको पत्र दर्ता भइसकेको हो भने अहिलेको सरकार अल्पमतमा पर्यो । अल्पमतमा परिसकेपछि जसपाले राजीनामा बुझाएकै दिनदेखि काउनडाउन सुरु भयो । ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत हामी फेस गर्छौं,’ सिटौलाले भने, ‘विश्वासको मत पायौं भने सरकार चल्यो । नभए अर्को विकल्पमा हामी जान्छौं । संसद फेस गरेरै बहुमत पुर्याउने कोशिस गर्छौैं । त्यो भयो भने मूलबाटोबाटै बजेट ल्याउँछौं ।’ उनले आफ्नो दलले मुख्यमन्त्री माग्ने बेला नभएको पनि बताए । ‘आफ्नो दलबाट मुख्यमन्त्री माग्ने अवस्था सिर्जना भएको छैन । तत्कालको परिस्थितिलाई मध्यनजर गरेरै अगाडि बढ्ने हो । अहिलेसम्म हामी सरकारमा छौं । हाम्रो नैतिक दायित्व विश्वासको मत लिने नै हुन्छ,’ उनले भने ।
उता, आगामी बन्ने नयाँ सरकारको नेतृत्व माओवादीले गर्ने नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताएका छन् । भागबण्डाको हिसावले हेर्दा आफ्नो दलले मुख्यमन्त्री पाउने हक राख्ने भएपनि आफू दोहोरिएर मुख्यमन्त्री बन्ने पक्षमा नभएको बताए ।
‘भागबण्डाको हिसावले हाम्रो पार्टीलाई मुख्यमन्त्रीको हकै लाग्ने हो । तर, म एउटा संयोजन गर्ने भूमिकामा पनि रहेको र अलिक नैतिकताको धरातलमा पनि टेकेर राजनीति गर्नुपर्ने भएको हुनाले यो गठबन्धनबाट सँधैभरी म मात्रै दोहोरिँदा त्यति न्यायोचित हुँदैन । त्यसो हुँदा मैले अरुनै साथीहरुलाई मन्त्री बनाउनका लागि दुई तिन महिनाअगाडिबाट लागिरहेको छु,’ उनले भने, ‘दोहोरिएर सांसद जित्नु भएको, अर्थमन्त्री पनि भइसक्नु भएको इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने करिब करिब सहमति छ । काँग्रेससहितको पुरानो जेन्टलमेन्ट एग्रिमेन्ट भएको हो । अब आज काँग्रेसले कस्तो छलफल गर्नुभयो मलाई थाहा छैन ।’ उनले नयाँ बन्ने सरकारलाई बहुमत (४७) भन्दा बढी सांसदको समर्थन रहने सम्भावना रहेको दाबी गरे । ‘गठबन्धनलाई ४७ मतभन्दा पनि बढी पुग्ने सम्भावनाहरु छन् । हाम्रो त्यो खालको कुराकानी भइरहेको छ,’ उनले भने । उनले अहिलेको सरकारले अध्यादेशबाट ल्याएपनि वा संसदबाटै ल्याएपनि बजेट पास नहुने र नयाँ सरकार बनेपछि बजेटलाई पूर्णता दिने पनि बताए ।
उता, काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने काँग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने आफ्नो दलको निर्णय भएको बताए । संसद सचिवालयमा आजै बसेको बैठकले उक्त निर्णय गरेको कार्कीले जानकारी दिए । ‘नयाँ सरकार गठनको विषयमा गठबन्धन दलबीचमा छलफल गरेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय भएको छ,’ उनले भने, ‘दलहरुबीच छलफल हुँदै जाँदा अर्को सहमति पनि हुनसक्छ ।’