काठमाडौं । वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् ।
चितवनमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन ।
उनले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरू आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए । उनले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन आग्रह गरे । उनले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको बताए ।
उनले भने, ‘वर्षाको सिजन शुरू हुन लागेको छ । बाढी, पहिरो, डुबानका समस्याहरू देखापर्न सक्छन् । सडकहरूमा पहिरो जाने, बाटो अवरुद्ध हुने, दुर्घटना हुने खतरा बढ्न सक्छ । त्यस्तो स्थितिमा भर्खरै मात्र पनि हामीले केन्द्रीय विपद् समितिको बैठक बसेर आवश्यक तयारीका काम अगाडि बढाएका छौं ।
त्यसको निम्ति दोस्रो बैठक तत्काल बसेर केही योजनाहरूलाई व्यवस्थित ढंगले तयारी गर्ने निर्णय पनि लिएका छौं । त्यसैगरी यस अवस्थामा आफूहरूलाई पनि तयार गर्न सुरक्षा निकायका ती सबै अफिसर र जवानहरू, जसले हरेक आपत्विपद् पर्दाखेरी जनतालाई सेवा गर्दै आइराखेका छन्, उनीहरूले पनि आफूलाई त्यही ढंगले तयारी गर्नुपर्ने आवश्यकता छ ।’