बेलबारी । आउँदो शनिबार हुने उद्योग वाणिज्य संघ बेलबारीको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय व्यवसायीहरु सम्मिलित संघको निर्वाचनमा दुई वटा औपचारिक प्यानल निर्वाचनको तयारीमा लागेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनमुक्ति पार्टी आदि राजनीतिक पृष्ठभूमिका व्यवसायिहरुले संघको निर्वाचनमा पनि गठबन्धन बनाएर चुनावको तयारी गरेका छन् । अर्कोतर्फ नेकपा एमालेले पनि आफ्नो नेतृत्वमा गठबन्धन बनाएरै प्रतिस्पर्धा गरिरहेको छ ।
चुनावको मिति नजिक आउँदा भेषकुमार श्रेष्ठ (अशोक) नेतृत्वको प्यानलले प्रचारलाई बलियो बनाउँदै लगेको छ । बेलबारीमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठको नेतृत्वमा लोकतान्त्रिक वाम गठबन्धन चुनावी मैदानमा होमिएको हो ।स्थानीय व्यवसायीका समस्याहरुलाई केन्द्रमा राखेर समाधान खोज्ने बाचासहित उक्त प्यानलले उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको भरोसायोग्य संगठनको रुपमा विकास गर्ने प्रपितबद्धता जनाइरहेका छन् ।
स्वयम्भू ज्वेलर्सका सञ्चालक श्रेष्ठ सुनचाँदी व्यवसायी संघका संस्थापक उपाध्यक्ष हुन् । सरल जीवनशैली र स्वभावका भएकोले पनि उनीप्रति स्थानीय व्यवसायीहरुको सहानुभूति छ ।चुनावको तयारीमा गएका श्रेष्ठ नेतृत्वको प्यानलले प्रतिबद्धता पत्र तयार पारेर घर बहाल करबाट व्यवसायीहरुलाई मुक्त गराउने बताएको छ भने व्यवसाय तथा पर्यटन महोत्सव आयोजना गर्ने, व्यवसाय प्रबद्र्धन तालिम सञ्चालन गरी दक्षता अभिवृद्धि गर्ने उद्देश्य सार्वजनिक गरिएको छ ।
व्यवसायीक आपतकालीन कोषको स्थापना गरी आगलागी वा अन्य कारण डुब्न लागेका व्यवसायीको उद्धार गरिने उनले बताए । सफा र सुन्दर बजार निर्माणमा स्थानीय सरकार सँग पहल गरी फूलबारी सहितको बजार व्यवस्थापन गर्ने उनको भनाइ छ । हरेक व्यापारिक संस्थाका कर्मचारीको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याइने उनको बाचा छ ।
उता नेकपा एमालेको समर्थनमा माधवराज थापाको नेतृत्वको अर्को प्यानल चुनावी अभियान अगाडि बढेको छ । वर्तमान उपाध्यक्ष समेत रहेका थापा बेलबारीका पुराना व्यवसायी हुन् । एमाले र केही स्वतन्त्र व्यवसायीको साथ पाएका छन् ।
श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सन्दीप राई, उद्योग उपाध्यक्ष राजन गोर्खाली दर्नाल, वाणिज्य उपाध्यक्ष केशव थापा मगर र महासचिवमा विवेक मिश्र उम्मेदवार भएका छन् । त्यस्तै उद्योग सचिवमा सुरेश कुमार श्रेष्ठ, वाणिज्य सचिव टिकाराज श्रेष्ठ, कोषाध्यक्ष अर्जुनकुमार कार्की र सह कोषाध्यक्ष वसन्त नेपाल सहित २४ सदस्यीय प्यानल चुनावी मैदानमा होमिएका हुन् ।
उता थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धर्मराज गुरुङ, वाणिज्य उपाध्यक्ष सुवास श्रेष्ठ, उद्योग उपाध्यक्ष मोहन प्रसाद पोखरेल र महासचिव राजु बस्नेत उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा सुरेन्द्र तामाङ र सह कोषाध्यक्षमा मन्दीरा खत्री चुनावी मैदानमा छन् । वाणिज्य सचिव नगेन्द्र राई र उद्योग सचिव सन्तोष प्रसाईँले उम्मेदवारी दिने छन् ।
थापा नेतृत्वको प्यानलले पनि उद्योगी व्यवसायीका मुद्दालाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण थापा प्यानलको मुख्य चुनावी नारा हुन् ।