विराटनगर । पहिचानवादीको आन्दोलनका कारण कोशी प्रदेशको राजधानी विराटनगर आइतवार दिनभर नै तनावग्रस्त बन्यो । आन्दोलनकोे मुख्य कारण थियो, प्रदेशको नाम कोशी राखिनु ।
प्रदेशको नामकरणको विरोध गर्दै आएका जातीय पहिचान पक्षधरले कोशी प्रदेशको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । आइतवार प्रदेश सभाभित्र बजेट अधिवेशन चलिरहँदा बाहिर प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको थियो ।
आन्दोलनको मारमा कोशीको विपक्षमा हस्ताक्षर गर्ने निर्मला लिम्बूले सम्हालेको स्वास्थ्य मन्त्रालय समेत परेको छ । आन्दोलनकारीले ४ वटा गाडी तोडफोड गरेका छन् भने मन्त्रालयको भवनमा ढुंगामुढा भएको छ । झ्यालका सिसा फुटेका छन् ।
स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा देवकोटाका अनुसार सवारीसाधनमा पनि क्षति पुगेको छ । ‘४ वटा गाडीमा तोडफोड भयो । ४ वटामध्ये निर्देशकले प्रयोग गर्ने गाडी कुद्न सक्ने अवस्थामा छैन । झ्यालका सिसा फुटेर मन्त्रालयभित्र छरपस्ट भएका छन्,’ उनले भनिन् ।
आन्दोलनकारीको आक्रमणबाट २५–३० लाख रुपैयाँ जतिको क्षति भएको मन्त्रालयको अनुमान छ । १४ गते आन्दोलन भएको र १५ गते सार्वजनिक बिदा भएकाले अहिलेसम्म क्षतिको यकिन विवरण नआएको उनले बताइन् । मंगलवार कार्यालय खुलेपछि प्राविधिक बोलाएर कतिको क्षति भएको रहेछ भन्ने भन्न सकिने उनले बताइन् । उनले भनिन्, ‘जानकारहरूलाई बोलाएर देखाउँदा २५–३० लाख लाग्छ भनेका छन् ।’
आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेको मन्त्रालयलाई आन्दोलनका कारण असर पुगेको छ । सोमवार गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा भए पनि आर्थिक मामलिा तथा योजना मन्त्रालयसँग बजेटबारे छलफल गर्ने तय भएपछि आइतवार बिहानैदेखि कर्मचारीहरू खटिएका थिए ।
ढुंगामुढा र इँटाले मन्त्रालयका झ्याल, ढोकामा हान्न थालेपछि ज्यान जोगाउन नै समस्या परेको मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले बताए । उनले भने, ‘सबै जुटेर बजेट निर्माण कार्यमा थियौं । सबै काम अलपत्र बनेको छ ।’
अब मंगलवार मन्त्रालयमा छरपस्ट भएका ढुंगा र सिसा हटाउन बाँकी रहेको सुनाए । जिल्ला प्रहरी कार्यालय मोरङले पनि २० लाखभन्दा बढीको क्षति भएको जनाएको छ ।
क्षतिको यकिन विवरण नआएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जन दाहालले बताए ।
स्वास्थ्य मन्त्री निर्मला लिम्बू जसपाकी हुन् । उनी कोशी प्रदेशको विपक्षमा रहे पनि हस्ताक्षर गर्ने बेला संसद् भवनबाहिर निस्किएकी थिइन् । एमाले नेतृत्वको सरकारमा बस्ने अनि एमालेले ल्याएको नाममा समर्थन नगरेको भन्दै एमालेका सांसदले व्यंग्य गरेपछि उनी निस्किएकी थिइन् ।
गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएको थियो । एमाले, कांग्रेस, माओवादी र राप्रपाका सांसदको समर्थनमा प्रदेशको नाम कोशी राखिएको थियो । त्यसपछि असन्तुष्ट पक्षले आन्दोलन गरिरहेका छन् । नाम राखिएको ८९ दिनमा प्रदेश सभाको बैठक बसेको थियो ।