विराटनगर । कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग गर्दै ‘पहिचानको लागि युवा’ समूहले प्रर्दशन गरेको छ । विराटनगरमा शुक्रबार साँझ पहिचानको लागि युवाले कोशी खारेजीको माग राख्दै प्रर्दशन गरेका हुन् ।
विराटनगरस्थित महेन्द्रचोकबाट निस्किएको शान्तिपूर्ण ¥यालीले मुख्यमन्त्री रोडशेषचोक हुदै ट्राफिक चोक भएर सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।
यसअघिको आन्दोलन उत्तेजित हुने गरेको थियो भने शुक्रबार ‘पहिचानको लागि युवा’ समूहको आन्दोलन शान्तिपूर्ण रहेको थियो । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनपछि विरोधसभामा बोल्दै पहिचानवादी नेताहरूले कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण नगरे आन्दोलन थप कडा भएर जाने बताए । उनीहरुले पहिचानलाई दबाउन खोज्नेहरू राजतन्त्र जसरी समाप्त भयो, त्यसै गरी पहिचान विरोधीहरु पनि समाप्त भएर जाने बताए ।
पहिचानको लागि युवाका संयोजक विराज लिम्बुले गुण्डागर्दी शैलीमा राखिएको नाम खारेजी गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने बताए । पहिचानको आधारमा नामकरण नभएपछि यो आन्दोलनले निरन्तरता पाउने उनले बताए । पहिचानको आधारमा नामकरण राख्न अहिलेको सरकारले पुनः बिचार नगरे आन्दोलन कडा भएर जाने उनले बताए ।
कार्यक्रममा पहिचानबादी नेता अर्जुन जम्नेली राईले कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरणमा पुनः विचार नगरे आन्दोलन सशक्त भएर जाने बताए ।
यसैबीच प्रदेशको पुनः नामकरण संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी संघर्ष समितिले पहिचानका लागि युवा घोषणा गरेको हो ।
पहिचानका लागि युवा घोषणा गरिएको किराँत राई यायोख्खाका महासचिव भीम राईले बताए । पहिचानसहितको नाम माग गर्दा प्रशासनले दुःख दिएको बताउँदै उनले यसमा कति पनि विचलित नभई लक्ष्य प्राप्ति नभएसम्म अघि बढ्ने र रचनात्मक ढंगले आन्दोलन व्यवस्थित गर्ने उद्देश्यका साथ पहिचानका लागि युवा घोषणा गरेको उनको भनाइ थियो ।
उनका अनुसार अनुशासित ढंगबाट किराँत राई यायोख्खाको नेतृत्वमा किराँत फोर्स, संजुहाङ पालुङ्वा नेतृत्वमा काङसोरे फोर्स साथै कुमार लिङ्देन नेतृत्वमा एलभी फोर्स रहेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेङले प्रदेशको नाम भनेजस्तो नभएसम्म आन्दोलन जारी रहने बताए । विद्रोहलाई निष्कर्षमा पु¥याउन समेत पहिचानका लगि युवा आवश्यक रहेको बताउँदै उनले दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको बताए ।
शान्तिपूर्ण आन्दोलन गर्दा राज्य पक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारीविरुद्ध आइलाग्ने जस्ता कार्य भएको बताउँदै उनले शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानका लागि युवा घोषणा जारी गरेको उल्लेख गरे । उनका अनुसार पहिचानका लागि युवा १५१ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ । संयोजकमा मनु लिम्बु, सहसंयोजकमा रग्बा शेर्पा रहेका छन् । यस्तै सचिबमा साहास राई, सहसचिबमा जेन्टल लावति, कोषाध्यक्षमा छितिज लावति रहेका छन् ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् । आन्दोलनका क्रममा चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएको लिम्बूको १० गते उपचारका क्रममा मृत्यु भएको थियो । लिम्बूलाई सरकारले सहिद घोषणा समेत गरिसकेको छ ।