महानगरले सार्वजानिक गरेको लोगोको सर्वत्र आलोचना

विराटनगर । एक वर्ष पुगेको अवसर पारेर विराटनगर महानगरपालिकाले पहिचान झल्कने लोगो छनोट गरेर सार्वजनिक गरेलगत्तै जनस्तरमा यसको व्यापक आलोचना सुरू भएको छ ।

महानगरपालिकाले बिहीबार सार्वजनिक गरेको लोगोले महानगरको पहिचान समेत नझल्किएको र लोगो भद्दा भएको भन्दै जनस्तरबाट आलोचना सुरू भएको हो ।

कतिपयले छनोटसमितिले लोगोको महत्व नबुझेको प्रतिक्रिया दिएका छन् । कतिपयले विराटनगरको पहिचानको साटो लोगोले अरबी देशको पहिचान झल्काएको प्रतिक्रिया दिए ।

लोगोमा अंग्रेजी भाषा प्रयोग गरेको प्रति पनि धेरैले आपत्ति जनाएका छन् । प्रतिक ढकाल लेख्छन्, ‘अंग्रेजी हैन, देवनागरी भाषाको प्रयोग गरौँ । यो लोगोले विराटनगर झल्काउँदैन ।’

कतिपयले यो हाँस्यास्पद र लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् । विराटनगरका साहित्यकार शिवनारायण पण्डित ‘सिंगल’ लेख्छन्, ‘ऐतिहासिक, औद्योगिक, धार्मिक, राजनैतिक नेतृत्व दिने र साहित्यिक नगरी विराटनगरको गरिमा यो लोगोमा कुनै कोणबाट पनि दर्शिएको छैन ।’

उनले विराटनगर झल्किने लोगो ल्याउनु पर्ने र यसलाई प्रेमपूर्वक खारेज गर्नुपर्ने सामाजिक संजाल फेसबुकमा लेखेका छन् । धेरैले सामाजिक संजालमार्फत लोगोको विषयमा आलोचनासँगै सुझाव दिएका छन् ।

यता लोगो छनोट समिती संयोजक समेत रहेकी महानगर उप–प्रमुख शिल्पा निराला कार्कीले लोगोमा विराटनगरको पहिचान झल्किएको बताएकी छन् ।

लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उनले लोगोमा विराट राजाको दरबार, राधाकृष्ण रथ यात्रा, औद्योगिक नगरी, एयरपोर्ट, हरीयालीलगायत समावेश गरिएको लोगोले विराटनगरको पहिचान झल्किएको बताइन् ।

लोगो नुरकुमार श्रेष्ठले डिजाइन गरेका हुन् । १५८ जनाले डिजाइन गरेर पठाएका मध्ये श्रेष्ठले बनाएको लोगो छनोटमा परेको थियो ।

शनिबार, १३ जेठ, २०८०, बिहानको ०९:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर