काठमाडौँ । राष्ट्रपति कार्यालयले रेसम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृह मन्त्रालयमा फिर्ता पठाएको छ । शुक्रवार चौधरीलाई आम माफी दिने प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको हो ।
राष्ट्रपति कार्यालयबाट पूर्व सांसद चौधरीको सन्दर्भमा गृह मन्त्रालयलाई पठाइएको पत्रमा प्रचलित कानुन, अदालतबाट भएको यस सम्बन्धी फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भन्ने उल्लेख रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
रेसम चौधरी संलग्न रहेको अभियोग लागेको टिकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कठायत बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदन पनि गृह मन्त्रालयमा पठाइएको पनि पोखरेलले बताए ।सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको सात जनाको हत्या भएको थियो ।