काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बर्खाको महिनामा पनि काठमाडौँ प्रवेश गर्ने मुख्य नाका सडकहरूमा समस्या नआउने बताएका छन् ।
शुक्रवार नाग ढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङ मार्गको निर्माणको प्रगतिबारे अवलोकन गर्दै मन्त्री ज्वालाले सडकमा कुनै समस्या आउन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।
अवलोकन पछि उनले नागढुङ्गा सडक राजधानी जोड्ने मूल सडक भएकाले अहिले सम्मभएका समस्यालाई समाधान गरेर कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । बर्खामा पनि सवारी साधनका आवत जावत नरोकिने गरी सुधार र मर्मतका काम सम्पन्न गर्ने पनि पनि उनको भनाइ थियो ।
उनले भने ‘ राजधानी जोड्ने मूल सडक हो यो । त्यस कारण अहिलेसम्म जति पछाडि परेता पनि । जे जे समस्या झेल्नुपरे पनि सबै समस्यालाई समाधान गरेर कामलाई तीव्रता दिने छौ । यसमा निर्माण व्यवसायीहरूले पनि काममा कञ्जुँस्याई गर्न भएन, उहाँहरूले कुनै बहानामा कामबाट भाग्न मिल्दैन । हामी यसमा कडा छौँ । बर्खामा पनि यातायात बन्द हुन नदिनको लागि सुधार र मर्मतका काम र सवारी साधन सहज रूपमा आवत जावत नरोकिने गरी काम गर्छौ ।’
मन्त्री ज्वालाले जनताले भोगिरहेको समस्या पुनः दोहोरिन नदिने गरी काम गर्ने बताए ।