विराटनगर । एक महिलालाई १६ वर्षअघि सामूहिक बलात्कारपछि हत्या गरेर फरार रहेका दुई अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयका अनुसार धनकुटाको शहीदभूमि गाउँपालिका–१ धाप बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४५ वर्षीय कल्पन राई पक्राउ परेका हुन् ।
२०६४ मंसिर १९ गते २५ वर्षीया ललिता राईलाई साविक धरान ५ महेन्द्रपथस्थित बलभद्रेश्वर अरुणोदय धर्मशालाको २१८ नम्बर कोठामा ल्याएर बलात्कार गरेपछि हत्या गरेर उनीहरु फरार भएका थिए । महिलाको घाँटी थिचेर हत्या गरेको स्वीकार पक्राउ परेका दुबैले गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
मुख र यौनांगबट रगत बगिरहेको अवस्थामा ललिता राईको शव मंसिर २३ गते भेटिएका थियो । फरार अभियुक्तहरु लामो समय नेपाल बाहिर बसेपछि फर्केर आएको अवस्थामा पक्राउ परेका हुन् । आरोपीको स्पष्ट ‘क्लु’ नभेटेको र किटानी जाहेरी पनि नपरेपछि घटनाको फाइल थन्किएको थियो ।
प्रहरीका अनुसार घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । दुई महिनाअघि फाइल खोलेर अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।
पेन्डिङ फाइल खोल्न प्रदेश प्रहरी प्रमुख डीआइजी र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीको निर्देशनपछि मल्लले अनुसन्धान थालेकोमा दुबै जना पक्राउ परेका हुन् । सुरुमा चन्द्रबहादुरलाई पक्राउ गरेको प्रहरीले लगतै कल्पनलाई पनि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार श्रीमानसँग सम्बन्ध बिग्रिएपछि माइतमा बस्दै आएकी ललिताको चन्द्रबहादुरसँग प्रेम सम्बन्ध रहेकोमा प्रेमीले बोलाएपछि उनी धर्मशाला पुगेकी थिइन् । चन्द्रबहादुरले कोठामा राखेर साथी कल्पन राईलाई पनि बोलाई पटक–पटक करणी गरेको प्रहरीको भनाइ छ । ललिताले प्रतिकार गर्न खोजेपछि पोल खुल्ने डरले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
डीएसपी मल्लका अनुसार त्यसबेला प्रहरी अनुसन्धानमा चन्द्रबहादुर शंकाको घेरामा परेको भएपनि पक्राउ परेका थिएनन् । उनी भागेर लामो समय भारत बसेका थिए । कल्पन भने गाउँघरमै थिए ।
लामो समय भारतको सिक्किमा बसेका चन्द्रबहादुर केही वर्षअघि मात्रै घर फर्किएको पाइर्एको । थन्किएको फाइल खोजेपछि प्रहरीले मृतकका आफन्तलाई बोलाएर सोधीखोजी गर्दा अभियुक्तसम्म पुग्न सफल भएको हो ।
पक्राउ परेकामाथि बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।