तेल उठाउनु प्रहरीको बाध्यता : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रहरी प्रशासनप्रति सधैं सकारात्मक देखिँदै आएका छन् । आफ्नो यो मौलिक छविलाई उनले मुख्यमन्त्री हुँदासम्म पनि मेटिन दिएका छैनन् ।

पहिलो प्रदेश सरकार बन्दा प्रदेशको ‘गृह मन्त्रालय’ मानिने आन्तरिक मामिला मन्त्रालय रोजेका कार्कीले मुख्यमन्त्री हुँदा पनि आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय आफैसँग राखेका छन् ।

आन्तरिक मामिला मन्त्री हुँदा उनले प्रहरीलाई सयौं बाइक मात्रै प्रदान गरेनन्, धेरैवटा प्रहरी कार्यालय भवन पनि बनाइदिए । प्रहरीप्रति उनको सकारात्मकपन मुख्यमन्त्री हुँदा पनि कायमै देखिएको छ । आइतबार विराटनगरमा प्रहरीले नै आयोजना गरेको एउटा कार्यक्रममा उनले प्रहरीप्रति उदार बन्दै भनिदिए ‘प्रहरीले बजारमा तेल उठाएर चल्नुपरेको छ । यो उसको बाध्यता हो ।’

नेपाल प्रहरीले बजारमा तेल लगायतका सामान तथा पैसा उठाउने गरेको आरोप जनस्तरमा व्याप्त छ । अपराध अनुसन्धानमा अब्बल भएर पनि नेपाल प्रहरीको सार्वजनिक साख यस्तै व्यवहारले घटाएको भन्दै सर्वत्र चिन्ता जाहेर भइरहेका बेला मुख्यमन्त्री कार्कीले भने प्रहरीको त्यस्तो कदमलाई स्वाभाविक भन्दै समर्थनको धाप मारेका छन् ।

वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कार्की भावुक सुनिए । ‘हाम्रो सुरक्षा निकायको महत्वपूर्ण अंग प्रहरी नै हो । तर, अहिले पनि अपराधी बाइकमा प्रहरी साइकलमा, अपराधी गाडीमा प्रहरी बाइकमा अपराधी खेद्दै हिँड्नुपर्ने बाध्यता छ’, मुख्यमन्त्री कार्कीले भने ‘यसरी प्रहरीले शान्ति सुरक्षा दिन सक्दैन ।’

संघीय सरकारले आवश्यक प्रबन्ध गर्न नसकेको भन्दै त्यसक्रममा उनले थपे ‘सरकारले प्रहरीको न्यूनतम आधारभूत कुरा पूरा गर्नुपर्छ । यसै त प्रहरी र कर्मचारीहरुको सेवा सुविधा नै कम्ती छ । हामीलाई प्रहरी गाडीले स्कर्टिङ गर्दा म प्रहरीको गाडीको चक्का देख्छु । चार वटा चक्काको टायर चारथरी हुन्छ । गाउँघरमा भनिने जोगी तिहुन जस्तो ।’

‘माग्दा जस्तो पाइन्छ, त्यस्तै प्रयोग गर्ने न हो’ , उनले भने ‘सरकारले गाडी दिन्छ, तेल दिँदैन । अनि माग्दै हिँड्नपर्छ । तेल उठाउँदै हिँड्नै पर्यो । गाडी चलाउन पनि तेल माग्नु पर्यो नि ! तेल चाहिएन ?’

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनामा प्रहरी नपरेको बताउदै प्रदेश सरकारले समन्वय गरेर अगाडि बढिरहेको पनि बताए । ‘अहिले पनि प्रहरी समायोजनको काम अगाडि बढेको छैन,’ उनले भने,‘ प्रधानमन्त्रीज्युलाई भेटेर कुरा राख्दा चाँडै समायोजन प्रक्रिया अगाडि बढ्छ भन्ने आश्वासन पाएका छौँ । ’

प्रहरीको दर्दनाक अवस्था रहेको बताउँदै मुख्यमन्त्री कार्कीले ‘प्रहरीका सवारी साधन ,स्रोत पर्याप्त नभएको अवस्था छ,’ रहेको उल्लेख गर्दै भने, ‘प्रदेशले बजेट बनाउँदा प्रहरीलाई केही गर्न सक्ने अवस्था छैन । समन्वय मात्र गर्ने हो ।’ विपद ब्यबस्थापनमा नेपाली सेना ,सशस्त्र र प्रहरीले धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले पनि विपद नीति तयार पारेको बताए ।
कोरोनाको कारणले गर्दा भवन निर्माण ढिलो भएको बताउँदै उनले आगामी दिनमा भवन निर्माण गर्दा तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमो जोड दिए ।
२०७५–०७६ को बजेटमा प्रदेश प्रहरी कार्यालय सहित ५४ वटा भवन निर्माण गर्ने बजेट बिनियोजन गरेको बताउँदै उनले भने, ‘आजको मितिसम्ममा धेरै सुबिधासम्पन्न भवन बनिसकेका छन् ।’

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलले सुविधा सम्पन्न भवनबाट प्रहरीले शान्ति सुरक्षामा कटिबद्ध भएर लागिपर्ने बताए । प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छिरीतो तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । ‘पीडामा परेका व्यक्तिलाई थप पिडा दिनु हुँदैन,’ उनले भने, ‘त्यस्ता सेवाग्राहीको प्राथामिकतामा राखेर सेवा दिनु प्रहरीको कर्तव्य हो ।’ उद्धघाटन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाई, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति थियो ।

सोमबार, ०८ जेठ, २०८०, बिहानको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर