सहकारीको रकम हिनामिना गरेर एमालेबाट निर्वाचित मेयर फरार

काठमाडौं । पछिल्लो समयमा निक्षेपकर्ताको रकम दुरुपयोग गरेर सहकारीले गठी गरेको गुनासो बढिरहेको बेला बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर नै सहकारीमार्फत निक्षेपकर्ता ठगी काण्डमा मुछिएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली निक्षेपकर्ताको रकम सहकारीले फिर्ता दिन नसकेपछि फरार भएका हुन् ।

नेपाली संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरासहित बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छ । एक महिनाअघि नेपालीले एक विज्ञप्ति जारी गर्दै धेरैजना निक्षेपकर्ता एकसाथ रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको भन्दै बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।

नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको उपमेयर धनबहादुर कठायतले जानकारी दिए । मेयर नेपालीले कुनै पूर्वजानकारी नदिई उपमेयर कठायतलाई कार्यवाहकको पत्र दिएर फरार भएका हुन् । ‘मेरो टेबुलमा कार्यबहाकको पत्र छोडिएको रहेछ’ उनले भने, ‘मेयर कहाँ गएको भन्नुभएको छैन, म नआउन्जेल कार्यवाहक चलाउनू मात्र लेख्नुभएको छ ।’

बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै आाएकोमा मेयर अध्यक्ष रहेको सहकारीले फिर्ता गर्न नसकेको बेला उनी फरार भएका हुन् । बाग्लुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार मेयर नेपालीलाई खोज्न प्रहरी परिचालन गरिएको छ । मेयर सम्पर्कविहीन भएपछि बचतकर्ताहरू प्रशासनमा आएको र बाग्लुङ बजारमा तनावको अवस्था रहेको उनले बताइन् ।

मेयर नेपालीले यसअघि आफ्नो पैतृक सम्पत्ति बेचेर भएपनि निक्षेपकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए । अहिले सम्पर्कविहीन भएपछि प्रहरीलाई खोज्न भनेको प्रशासनले जनाएको छ ।

निक्षेपकर्ताको कति रकम सहकारीले भुक्तानी गर्न बाँकी छ भन्ने यकिन भइसकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्को सूचना नभएसम्मका लागि भन्दै वैशाख ७ गतेदेखि सहकारीले बागलुङ बजारमा रहेको कार्यालय बन्द गरेपछि बचतकर्ताहरु आक्रोशित छन् । सहकारीले कर्मचारी र सञ्चालकका नजिकका मान्छेको बचत फिर्ता गर्ने गरेको भएपनि आम सर्वसाधारणको बचत फिर्ता नगरेको भन्दै निक्षेपकर्ताले प्रदर्शनसमेत गर्दै आएका थिए ।

सहकारीले निक्षेपकर्ताको करिब ४० करोड रुपैयाँ संकलन गरेको जनाएको छ । मेयर नेपालीले राम्रो आर्थिक आर्जन गरेपनि सहकारीका बचतकर्ताहरूलाई डुबाएको भन्दै स्थानीयले सहकारीको कार्यालय घेरेपछि प्रहरीले सुरक्षा दिँदै आएको थियो ।

आइतबार, ०७ जेठ, २०८०, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर