विराटनगर । गर्मी महिनामा निकै खपत हुने बदाम मिल्क जुसको बिक्रीमा सरकारले अन्तःशुल्क लगाएको ३ वर्ष हुँदा पनि नियामक निकायले असुल गर्न नसकेको पाइएको छ ।
बदाम मिल्क जुसको बिक्रीमा आर्थिक वर्ष २०७७/७८ देखि लिटरको २५ रुपैयाँ अन्तःशुल्क निर्धारण गरिएको छ । तर, देशमा भएका कुनै पनि बदाम मिल्क जुस उद्योगले अन्तःशुल्क नतिरेको र आन्तरिक राजस्व कार्यालयले असुल पनि नगरेको पत्ता लागेको हो । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली महानिर्देशक भएर आएपछि देशभरिका बदाम मिल्क जुस उद्योगले तिरेको र तिर्न बाँकी राजस्वका बारेमा अनुसन्धान सुरु गरिएको थियो । सोही अनुसन्धानबाट देशभरिका सबैजसो बदाम मिल्क जुस उद्योगले अन्तःशुल्कको रकम बक्यौता राखेको देखिएको छ । विभागका उपमहानिर्देशक टंक पाण्डेले बदाम मिल्क जुस उद्योगबाट बक्यौता राजस्व असुल गर्ने प्रक्रिया सुरु गरिएको बताए ।
विभागले मोरङ र सुनसरीका एक–एक, झापाका दुई, बुटवलको १ र जनकपुरको १ गरी देशभरिका बदाम मिल्क जुसका जम्मा ६ वटा उद्योगलाई अन्तःशुल्कको रकम तिराउने प्रक्रिया सुरु गरिएको जनाएको छ । मोरङको मारुती डेरी प्रोडक्टका सञ्चालक दीपक अग्रवालले आन्तरिक राजस्व कार्यालयले बदाममिल्क जुसका उद्योगीसँग अन्यायपूर्वक रकम असुलिरहेको प्रतिक्रिया दिए । अग्रवालका ‘गोविन्द’ र ‘गोपाला’ ब्रान्डमा बदाम मिल्क जुस बजारमा छन् ।
‘हामी किसानसँग खरिद गरेको दूधमा बदामको पेस्ट, फ्लेवर र चिनी मिश्रण गरेर त्यसलाई बोतलमा प्याक गरेर बिक्री गर्छौं,’ उनले भने, ‘हामीले किसानसित दूध खरिद गर्दा त्यसको भ्याट तिर्नुपर्दैन । हामी पनि हाम्रो जुस भ्याटबिना नै बिक्री गरिरहेका थियौँ । यसैबीच दुई वर्षअघि आन्तरिक राजस्व कार्यालयले हामीलाई जुसमा भ्याट लिएर मात्र बिक्री गर्न निर्देशन दियो । हामीले भ्याट लिन थाल्यौँ ।’
अग्रवालले थपे, ‘अहिले आएर आन्तरिक राजस्वले आर्थिक वर्ष २०७७÷७८ यताको बिक्रीको सम्पूर्ण विवरण लिएको छ । र, हामीलाई ३ वर्षदेखिको बिक्रीमा अन्तःशुल्क तिर्न दबाब दिइरहेको छ । हामीले ग्राहक र उपभोक्तासँग अन्तःशुल्कको रकम लिएकै छैनौं । अब हामी लिँदै नलिएको रकम कसरी तिर्ने ?’ नियामक निकाय आन्तरिक राजस्वमा नियमित रूपमा हिसाब पेस गर्दा पनि कहिल्यै अन्तःशुल्कको रकमको कुरा नउठेको र अहिले आएर व्यवसाय र व्यवसायीलाई नै धराशायी बनाउने हिसाबले एक्कासि दबाब दिन थालिएको गुनासो उनले गरे ।
‘२०७७/७८ देखिको अन्तःशुल्कको रकममा जरिवाना, ब्याज सबै जोडेर असुल गर्न खोजिँदैछ । मेरो उद्योगले मात्र २ करोड तिर्नुपर्ने भएको छ,’ उद्योगी अग्रवालले भने, ‘देशका ६ वटै बदाम मिल्क जुस उद्योगको अवस्था यही हो ।’ त्यस्तै सुनसरीको इटहरीस्थित बदाम मिल्क जुस उद्योगलाई आन्तरिक राजस्वले १० करोड निर्धारण गरेको छ ।
झापामा फ्रुट एग्रो प्रोडक्ट प्रालि र सूर्योदय डेरी गरी २ उद्योगले बदाम मिल्क जुसको कारोबार गरिरहेका छन् । आन्तरिक राजस्व कार्यालय चन्द्रगढी झापाका प्रमुख शुभ रिजालले दुवै उद्योगले बुझाउनुपर्ने अन्तःशुल्कको रकम कति हुन्छ भनेर अनुसन्धान भइरहेको जानकारी दिए ।