विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको ग्लोबल एकेडेमी शिक्षा नियमावली विपरीत अनुमति लिएभन्दा अर्कै ठाउँबाट सञ्चालनमा रहेको पाइएको छ ।
विराटनगर – १९ मा स्थापना भएको यो विद्यालयले शिक्षा नियामवली लत्याउँदै स्थापना भएको स्थानबाट अन्यन्त्र जाने स्वीकृति नै नलिइ विराटनगर १५ दिपज्योति टोलमा आफूखसी सरेर संचालनमा रहेको पाइएको हो ।
कुनै विद्यालय स्थापना भएको स्थानबाट अन्य स्थानान्तरण गर्दा महानगर पालिकाको नगर शिक्षा समितिबाट अनिवार्य रूपमा पूर्व स्वीकृत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, ग्लोबल एकेडेमीले स्वीकृति बेगरै आफुखुसी अर्को विद्यालय नजिक सरेपछि विवाद भएको छ । यसरी ग्लोबल एकेडेमी आफुखसी स्तान्तरण भएको कारण विवाद उत्कर्षमा पुगेको छ । अहिले ग्लोबल एकेडेमीको यो मुद्दा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ ।
ग्लोबल एकेडेमीले उच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै विराटनगर महानगरपालिकाले कारवाहीको प्रक्रिया अगाडि बढाएपछि ग्लोबल एकाडेमीले सर्वोच्च अदालतमा वैशाख ३१ गते रिट निवेदन दर्ता गराएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले विराटनगर महानगरपालिकालाई कारण देखाउ आदेश जारी गरेको छ ।
यसअघि उच्च अदालत विराटनगरले २०७६ पुस ३ गते महानगरपालिकाको शिक्षा शाखाबाट स्वीकृति लिएर मात्र स्थानान्तरण गर्ने फैसला गरेको थियो । उच्चले गरेको फैसला विरुद्ध ग्लोबल सर्वोच्चमा पुगेको हो ।
ग्लोबल एकेडेमीका प्रिन्सिपल ओमकार आचार्यले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । उच्चले गरेको फैसला उपर सर्वोच्चमा गएकोले स्तानान्तरण नगरेको उनले बताए । सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लागेपछि अदालतको निर्णाय मान्ने उनले बताए । ‘हामीलाई गरिखान नदिने उद्देश्यले केही व्यक्तिहरु लागेका छन्,’ उनले भने, ‘सर्वोच्चबाट हामीले न्याय पाउनेछौं भन्नेमा हामी आशावादी छौं ।’
शिक्षा नियमावलीमा कुनै पनि विद्यालय स्थापना भएको ठाउँबाट अर्को विद्यालय स्थानान्तरण गर्दा पुरानो विद्यालयको सहमति र कम्तीमा नजिकको विद्यालयकोभन्दा पाँच सय मिटरको दुरीमा हुनुपर्ने उल्लेख छ । तर, शिक्षा नियामवली २०५९ (संसोधित सहित) को धज्जी उडाउँदै ग्लोबल एकेडमी विराटनगर – १५ दिपज्योती टोलमा रहेको मदरमेरी इङलिस स्कुल नजिक आयो ।
ग्लोबल र मदरमेरीको दुरी करिब १५ मिटरको मात्र रहेको छ । ग्लोबल एकाडेमी आउनुभन्दा १८ वर्ष अगाडि २०५७ सालबाट विराटनगर १५ दिपज्योति टोलमा मदरमेरी स्कुल संचालनमा आएको थियो ।
शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा ४ बमोजिम तथा शिक्षा नियमावली विपरीत ग्लोबल एकेडमी साविकको मदरमेरी स्कुल नजिक आएपछि उच्च अदालतमा मुद्दा परेको थियो । २०७६ पुस ३ गते उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले ग्लोबल एकेडेमीको विपक्षमा फैसला गरेको थियो । उच्चले एकेडमीलाई विराटनगर १५ बाट स्थानान्तरण गर्न भनेको फैसलामा उल्लेख छ ।
‘कुनै पनि कार्य प्रत्यक्ष रुपमा गर्न नमिल्ने भनी उल्लेख भएकोमा अप्रत्यक्ष रुपमा पनि गर्न मिल्ने हुँदैन । कानूनले निर्दिष्ट गरेको विधि र प्रकृया कानूनी भक्ति संचालित या परिचालित हुनुपर्ने हुन्छ । कुनै विद्यालय स्थापना भएको स्थानबाट अन्यत्र स्थानान्तरण गर्दा महानगर पालिकाको नगर शिक्षा समितिबाट अनिवार्यरूपमा पूर्व स्वीकृति लिनु पर्ने कानूनी व्यवस्था छ । यस अदालतबाट समेत सम्बन्धित निकायबाट स्वीकृति नलिई स्थानान्तरण गरेको कार्य मान्य नहुने भनी पटक पटक रिट निवेदनमै रहेको अदालतबाट भएकाहरुमा महानगरपालिकाको प्रशासन महाशाखा यो नगर शिक्षा समितिबाट भएका निर्णयलाई बेवास्ता गरी विराटनगर महानगरपालिका १९ नं. वडामा विद्यालय संचालन गरी रहेको देखिन आएकोले अध्ययनरत विद्यार्थीको भार जीवनको अधिकार अन्तरगतको शैक्षिक अधिकार तथा अवसरलाई प्रतिकुल असर पर्ने गरी निवेदन माग बमोजिम विपक्षी ग्लोबल एकेडेमी प्रा.लिलाई अन्यथानान्तरण गर्नु गराउनु भनी परमादेशको आदेश जारी गरिएको छ,’ उच्च अदालतको फैसलामा उल्लेखछ ।
विद्यार्थीहरुको शैक्षिक सत्रको अध्ययन अध्यापन कार्यलाई प्रतिकुल असर नगर्ने गरी निवेदन माग बमोजिम विपक्षी ग्लोबल एकेडेमीलाई अन्यत्र स्थानान्तरण गर्नु गराउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहरेकोले उक्त आदेश कार्यान्वयन गारउनु उच्च अदालतको फैसला प्रतिमा उल्लेख छ । उच्चले गरेको फैसलाको प्रमाणीकरण २०७८ मंसिर १५ गते भएको छ ।