धरानको विवाद समाधानउन्मुख

धरान । दुई महिनादेखि बस्न नसकेको सुनसरीको धरान उपमहानगरपालिका कार्यपालिका बैठक सञ्चालन गर्ने समझदारी भएको छ ।
मेयर हर्कराज साम्पाङ र वडाध्यक्षका कमी कमजोरी सच्याएर जाने तथा वडाध्यक्षका जायज माग पुरा गर्ने वचनबद्धता मेयर साम्पाङले दिएको उपमेयर आइन्द्रबिक्रम बेघाले जानकारी दिए ।

उपमहानगरपालिकाका प्रवक्ता वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)का अनुसार कार्यपालिका बैठकमै बैठक सुरु हुन अघि मेयर साम्पाङले वडा अध्यक्षहरूको माग सम्बोधन गर्ने समझदारी छ । माग सम्बोधनपछि आइतबार बैठक सुचारु हुने उनले बताए । मेयर साम्पाङले फेसबुकलगायत सामाजिक सञ्जालमा जथाभावी नलेख्ने तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु २८ जनाको राजीनामा माग गरेको विषय फिर्ता लिने पनि समझदारी भएको छ । उपमेयर बेघाका अनुसार बैठक बस्ने समझदारी सुनसरी उद्योग वाणिज्य सङ्घको समन्वयनमा सचेत धराने समूहका प्रतिनिधिहरूको पहलमा शुक्रबार भएको छलफलमा समझदारी बनेको हो । छलफलमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु बसेका थिए । सचेत धराने समूह मेयर हर्क साम्पाङनिकट मानिन्छ ।

बेघाका अनुसार छलफलबाट कमीकमजोरी सच्याएर जाने, जायज माग पुरा गर्ने वचनबद्धता मेयर हर्क साम्पाङले दिएका छन् । छलफलमा वडाध्यक्षहरू नगर प्रमुख साम्पाङ, उपप्रमुख बेघा, वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज), वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १८ का अध्यक्ष नरेश कुमार राई (प्रवीण), वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराई, वडा १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई र वडा २ का अध्यक्ष रमेश राई सहभागी थिए ।

धरानमा वडाअध्यक्षहरुले ५ बुँदे मागहरू राख्दै आएका छन् । दुई महिना अघि चैत १ गते बसेको बैठकमा नगर प्रमुखका स्वकीय सचिव सुदर्शन लिम्बूले उपमहानगरको लेटरप्याड प्रयोग गरेर वडाध्यक्षहरूलाई पत्र काटेर निर्देशन दिएको विषयमा विवाद भएको थियो । त्यसपछि मेयर साम्पाङले बैठक स्थगित गरेका थिए ।

कार्यपालिका बैठकमा धारणा राख्ने क्रममा धरान १० का वडाध्यक्षलाई नगर प्रमुख साम्पाङले स्पष्टीकरण मागेपछि वडाध्यक्षहरूले आन्दोलनको घोषणा गरी ५ बुँदे माग पुरा नभए सम्म बैठकमा उपस्थित नहुने अडान लिदैं आएका छन् । अघिल्लो आइतबार सचेत समुहको पहलमा मेयरसँगै वडा १७, १५ र १८ का अध्यक्षहरुले छलफल गरेर कार्यपालिका बैठक बस्ने समझदारी गरेपनि वडा १७ का अध्यक्ष भट्टराईलाई मेयरका समर्थकरुहले दुव्र्यवहारको प्रयास गरेपछि वातावरण विथोलिएको थियो ।

आइतबार, ३१ बैशाख, २०८०, बिहानको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर