अध्यक्ष र उपाध्यक्ष आएपछि हाइटेन्सन पोलबाट ओर्लिए माझी

विराटनगर । निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग सम्बोधन नगरेको भन्दै हाइटेन्सन लाइन प्रशार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् ।

अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरुले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले उठाएका मागका विषयमा छलफल भइरहेको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले जानकारी दिए ।

दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट बिद्युत दौडिरहेको पोलमा उनी ११ घण्टा बसेका थिए । पोलमा मानिस चढेको जानकारी गराएको भएपनि नेपाल विद्युत प्राधिकरणले बिजुली काटेको थिएन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने लामो प्रयास सफल भएको बताए ।

बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।
गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका कारण उनलाई जबरजस्ती ओह्राल्न चुनौती थियो ।

उनले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरुले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त राखेका थिए ।
गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएका कारण लामो समय माझी पोलमै बसेका थिए । अध्यक्ष र उपाध्यक्ष धनकुटाबाट फर्केर सिघै घटनास्थलमा पुगेर माग सम्बोधन गरेपछि उनी पोलबाट ओर्लिएका थिए ।

शनिबार, ३० बैशाख, २०८०, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर