विराटनगर । नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका लैजाने भन्दै चलेको ठगी धन्दाका प्रमुख सदस्यमध्ये एक हुन्, मोरङका सागर राई । सागर गत चैत १६ गतेदेखि प्रहरी हिरासतमा छन् । उनी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष समेत हुन् ।
२०७४ सालको निर्वाचनमा कांग्रेसबाट टिकट पाउनुअघि उनको राजनीतिक पृष्ठभूमि खुलेको थिएन । तर, सागर स्थानीय युवाबीच परिचित थिए । स्थानीय युवालाई प्रभावित पार्न सक्ने देखेपछि पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालले उनीसँग हिमचिम बढाए । वडाध्यक्षको टिकट दिलाउने आश्वासन दिई कांग्रेसमा भित्र्याउन सफल पनि भए । नभन्दै २०७४ सालको निर्वाचनमा उनी रुख चिह्नसहित मैदानमा उत्रिए ।
एमालेको पकड मानिने उक्त वडामा कांग्रेसका तर्फबाट सागर एक्लैले चुनाव जिते । सदस्यहरू सबै एमालेका तर्फबाट आए । यो जीत नै स्थानीय समुदायमा उनको लोकप्रियताको उदाहरण थियो । चुनाव जितेलगत्तै दुलालले राईलाई आफूअनुकूल प्रयोग गर्न थालेका थिए । दुलाल हाल चर्चामा रहेको नक्कली शरणार्थी प्रकरणका मुख्य नाइकेमध्ये एक हुन् ।
अहिलेसम्म खुलेअनुसार यो प्रकरणको सारा योजना शुरूमा मोरङका केशव दुलाल र ललितपुरका सानु भण्डारीले बनाएका थिए । केशव र सानु दुवै अहिले प्रहरी हिरासतमा छन् । अब फेरि सागरकै प्रसंगमा जाऔं । बुवाआमा अमेरिका बस्ने भएकाले पनि हुनसक्छ उनको ‘लाइफ स्टाइल’ अरूभन्दा अलि फरक नै थियो । निजी गाडी चढ्थे ।
‘हामी सबैको भन्दा उहाँको जीवनशैली उच्चस्तरको थियो । आफ्नै गाडी चढ्नुहुन्थ्यो । रवाफ पनि बेग्लै थियो,’ उनकै कार्यकालका एक सदस्यले भने । वडाध्यक्ष भएदेखि नै उनको गतिविधि भने शंकास्पद् देखिन थालेको थियो । कार्यालयभन्दा बाहिरी काममा नै बढी व्यस्त हुने गरेको उनका सहकर्मीहरू बताउँछन् ।
‘करीब २ वर्षपछि हामीले उहाँ शरणार्थीहरूलाई अमेरिका लैजाने धन्दामा लागेको थाहा पाएका थियौं । त्यसैमा बढी इन्गेज हुने भएकाले वडालाई कमै मात्र समय दिनुहुन्थ्यो,’ एक वडा सदस्यले भने । आफ्नो पद र प्रभावको दुरुपयोग गरेर सागर नक्कली शरणार्थी खोज्ने र पैसा असुल्ने धन्दामा लागे ।
यसक्रममा उनले एक जनासँग १० लाखदेखि ४० लाखसम्म असुलेको पैसा बुझाउनेहरू बताउँछन् । पहिला तीन महिनामै लैजाने भनेर आफूसँग १० लाख रुपैयाँ बुझेको मोरङका श्याम कुमार (नाम परिवर्तन)ले बताए ।
‘२५ लाख रुपैयाँ तिरेर अमेरिका लाने आश्वासन पाएपछि केही साथीसहित म तयार भएँ,’ श्यामले भने, ‘म काम परेर काठमाडौं गएको थिएँ । साथीहरू पनि उतै गएका रहेछन् । पैसा बुझाउने सल्लाह भएपछि मैले कागज गराएर श्रीमतीलाई उनीहरूको बैंक खातामा रकम हालिदिन भनें ।’
आफ्ना अन्य ३ साथीले जनही १० लाखका दरले ३० लाख बुझाएको उनले खुलाए । उनका अनुसार शुरूमा १०÷१० लाख बुझाए पनि काम भएपछि २५ लाखका दरले बुझाउने सहमति भएको थियो । सागरसहित गिरोहका सदस्यहरूले २ महिनासम्म माथि सेटिङ भइसकेको छ, काम भइहाल्छ भनेर झुलाए । ‘हाम्रा साथीहरू उनीहरूले बोलाएको ठाउँमा भेट्न पुगेका थिए । माथि सबै सेटिङ भैसक्यो, मन्त्रीदेखि कर्मचारीसम्म सबै मिलाएका छौं भनेछन्,’ श्यामले भने ।
३ महिना पुग्न लाग्दा पनि काम नभएपछि उनीहरूले गिरोहका सदस्यहरूलाई कराउन थाले । ‘काम नहुने देखेपछि हामीले पैसा फिर्ता गर भनेर कराउन थाल्यौं, उनीहरूले कहिले के, कहिले के भनेर टारिरहे । आठ महिनापछि चारवटा बैंकको चेक दिए,’ श्यामले भने, ‘तर, खातामा पैसा थिएन । पहिले गरेको कागज देखाएर वडामा दर्ता गराउँछु, उजुरी गर्छु भन्दै थर्काएपछि १ वर्षमा बल्ल रकम फिर्ता गरे ।’ शरणार्थी बन्न खोज्नेलाई पनि कारवाही गर्नुपर्छ भन्ने आवाज उठ्न थालेपछि कोही पनि आफ्नो परिचय खुलाउन तयार छैनन् । आफूहरू समेत पक्राउ पर्ने हो कि भन्ने डर उनीहरूलाई छ ।
शरणार्थी बन्न पैसा बुझाएका रामकुमार (नाम परिवर्तन)ले यो प्रकरणमा अर्को एक रोचक तथ्य खुलाए । सरकारी कर्मचारी जस्तै गरी परिचय पत्र झुन्ड्याएर बसेका व्यक्तिहरूलाई आफूले पैसा बुझाएको उनले बताए ।
‘सरकारी कर्मचारीको जस्तै परिचयपत्र झुन्ड्याएका व्यक्तिहरू कार्यालय र कम्प्युटर समेत राखेर होटलमा बसेका थिए । उनीहरूले हाम्रो औंठा छाप लिए, फोटो खिच्न लगाए,’ रामकुमारले भने, ‘ती व्यक्तिहरूसँग हाम्रो अरू कुरा भएन ।’ भुटान कुन ठाउँबाट आएको, कहाँ बसेको भन्ने विवरण उनीहरूले आफूखुसी भरेको भन्दै रामकुमारले आफ्नो नाम समेत नक्कली राखिदिएको बताए ।
पहिलो दिन आफ्नो काम सकिएपछि रामकुमार अमेरिका जान पाइने आशामा बसेका थिए । तर, तथ्यांक राख्दा बिग्रियो भनेर केही दिनमा फेरि बोलाए । ‘पहिले र पछाडि बोलाएको होटल फरक–फरक थियो,’ उनले भने, ‘तीन÷चार वर्षअगाडिको कुरा भएकाले होटलको नामचाहिँ यकिन साथ भन्न सक्दिनँ ।’
सागर आफ्नो नजिकको साथी भएकाले विश्वास गर्दा फसेको उनको गुनासो छ । यहाँसम्म कि फर्म भर्न लैजाँदा कोही अतिरिक्त व्यक्तिसँग कुराकानी गर्छन् कि भनेर सागर हरेक क्षण सँगै रहने गरेको उनी सम्झन्छन् । रामकुमारका अनुसार सागरलाई जनही ३० लाख बुझाउने डिल भएको थियो ।
आफूसहित ८ जनाले १०÷१० लाखका दरले मोरङको पथरी शनिश्चरेस्थित एक बैंकको एउटै काउन्टरबाट सागरको खातामा रकम हालिदिएको उनी बताउँछन् । ‘धेरै पैसा जम्मा भएपछि आशंका हुने डरले सागरले त्यो खाता नै बन्द गरी नयाँ खाता खोलेको भन्ने सुनेको छु,’ उनी भन्छन्, ‘शुरूमा ३ महिनामै लैजाने भनेका थिए । चार वर्ष बित्दा पनि विभिन्न बहाना बनाएर हामीलाई लगारिरहे ।’
केशव दुलालसँग पनि रामकुमारको राम्रै चिनजान थियो । ‘केशव र म एउटै पार्टीको मान्छे भएकाले राम्रो सम्बन्ध थियो । तर, सागरले मसँग बाहेक यस विषयमा कसैसँग कुरा नगर भनेकाले चुप बसें । उसैको कुरामा विश्वास भयो,’ उनले पछुतो मान्दै भने । पथरीमा मात्रै यसरी पैसा बुझाउने ३५ जना रहेको उनी बताउँछन् । सागरले आफन्त, नजिकका साथीभाइ र चिनेजानेकाहरूसँगै बढी रकम संकलन गरेका छन् ।
मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा ४ सय १० परिवारका १ हजार ४४१ जना बस्छन् । तीमध्ये ९६ जना दर्ता प्रक्रियामै छुटेकाहरू छन् । कोशी प्रदेशको झापा र मोरङमा रहेका शरणार्थी शिविरमा रहेकाहरूको कुल संख्या अहिले ६ हजारको हाराहारीमा छ । दुई जिल्लाका गरी ४ सय २६ जनाको दर्ता छुटेको शरणार्थी व्यवस्थापन समितिहरूले जनाएका छन् । शुरूमा सन् १९९२ जुलाई ११ मा पथरी शनिश्चरेमा शिविर स्थापना भएको थियो । त्यतिबेला १६ हजार भुटानी शरणार्थी आएर बसेका थिए । सन् २००८ मा आइपुग्दा यो संख्या २४ हजार नाघेको शरणार्थी व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले बताए । यो एउटा शिविरको मात्र तथ्यांक हो । समग्र शरणार्थीको संख्या सवा लाखभन्दा बढी थियो ।
शारीरिक तथा मानसिक यातना खेपेर आफ्नो भूमि छाड्न बाध्य भएका भुटानी शरणार्थीहरूलाई शुरूमा आफ्नै देश फर्काउने प्रयास भएको थियो ।
१६औं चरणसम्म वार्ता गर्दा पनि स्वदेश फर्काउन सम्भव नभएपछि तेस्रो देश पुनर्वासको प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । त्यसपछि शरणार्थीहरूलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत, नेदरल्यान्ड्सलगायत मुलुकमा पुनर्वासका लागि लगियो ।
अहिलेसम्म १ लाख १३ हजार भन्दा बढी शरणार्थी तेस्रो देश गइसकेको चम्पासिङले बताए । २०१६ डिसेम्बर ३१ को मध्यरातमा पुनर्वासका लागि आवेदन दिने म्याद सकिएको थियो । पथरी शनिश्चरे शिविरबाट त्यतिबेला आवेदन दिएका मध्ये एक परिवार मात्र जान नपाएको उनले बताए । बाँकी रहेकाहरू अहिले नक्कली शरणार्थी काण्डले त्रसित छन् । ‘हाम्रो शिविरमा कोही पनि नक्कली शरणार्थी छैनन् । तर, अहिले कता–कता नक्कली शरणार्थीहरूले छाप्रो बनाउन थालेको भन्ने सुन्छौं,’ उनले भने, ‘हामीलाई त अब तेस्रो देश पुनर्वास गर्न नसकिने भयो, नेपालमै व्यवस्थापन गर्छौं भनेका हुन् ।’ पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले नै आफूहरूलाई तेस्रो देश पुनर्वास गराउन नसकिने भयो भनेको उल्लेख गर्दै उनले नक्कली शरणार्थी खडा गरिएकोप्रति चिन्ता व्यक्त गरे ।