विराटनगर । कोशी प्रदेशमा २५ सय प्रहरी कर्मचारी काजमा कार्यरत रहेको पाइएको छ । काजमा रहेका सिनियर प्रहरी अधिकृतसमेत छन् । सिनियर प्रहरी अधिकृतभन्दा जुनियर प्रहरी बढी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा देखिन्छ ।
काजमा रहने प्रहरीहरू सोर्स, फोर्स र पावरको भरमा बस्ने गरेका छन् । उनीहरूको दरबन्दी पहाडी र विकट ठाउँमा रहेको छ । तर, पावर लगाएर उनीहरू सुगम ठाउँमा काजमा बस्दै आएका छन् । कतिपय सिनियर अधिकृतहरू ‘क’ वर्गको प्रहरी कार्यालयहरूमा काजमा कार्यरत रहेका छन् ।
उनीहरूलाई लक्षित गर्दै डिआइजीमा बुढा वा भएर कोशी प्रदेश समालेका डिआइजी राजेशनाथ बास्तोलाले नेपाल प्रहरी प्रधान कार्यालयको सरुवा नीति अनुसार सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो तोकिएको दरबन्दीमा अनिवार्य रूपमा रवाना गराएर अगाडी बढ्ने बताएका छन् ।
विराटनगरमा मंगलबार आयोजना गरिएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी गिरीले यस्तो बताएका हुन् ।
डिआइजी बास्तोलाले प्रहरी कर्मचारीहरूमा दरबन्दीमा गएर काम गर्नु पर्ने भन्ने भावनाको विकाश गराउन लागि पर्ने बताए । ‘काज पद्धतिलाई व्यक्तिको आवश्यकतामा भन्दा कार्यालयको आवश्यकतामा गर्ने परिपाटीको थालनी गर्नेछु,’ उनले भने, ‘ प्रधान कार्यालयको सरुवा नीति अनुसार सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो तोकिएको दरबन्दीमा अनिवार्य रूपमा रवाना गराएर पढाउनेछु ।’भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कडाइका साथ अवलम्बन गरेर अगाडी बढ्ने उनले बताए । प्रहरी पोसाक, डियुटी दुरुस्त गर्ने, नम्र र शिष्ट भई कडाइका साथ कानुनको पालना गराउन आफू लागि पर्ने उनले बताए ।
नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवा प्रवाह गरी पीडित, गरिब, असहाय हुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने उनले बताए । इलाका प्रहरी कार्यालय स्तर सम्म रहेका नागरिक सहायता कक्षलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लागि पर्ने डिआइजी बास्तोलाले बताए ।
‘सेवाग्राही सँग नम्र, मृदुभाषी प्रयोग गर्ने,क्षमता वान प्रहरी कर्मचारीहरूलाई जिम्मेवारी दिइनेछ,’ उनले भने ।फरार अपराधी पक्राउ तथा पेन्डिङ मुद्दाको फलोअपलाई तीव्रता दिएर अगाडी बढ्ने डिआइजी बास्तोलाले बताए । ‘सम्मानित अदालत सँगको समन्वय र सहकार्यमा विशेष टोली गठन गरी फरार अपराधी पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा संचालन गर्ने योजना रहेको छ,’ उनले भने, ‘पेन्डिङ मुद्दाहरूको फर्छौटको लागि सिनियर प्रहरी अधिकृतहरूलाई जिम्मेवार बनाई निरन्तर फलो अप गर्न लगाउनेछु ।’हराएको व्यक्तिहरूका सम्बन्धमा चौकी स्तर सम्म फोटोसहितको अभिलेख व्यवस्थापन गरी खोजी कार्यलाई व्यवस्थित एवं परिणाममुखी बनाउन लागी पर्ने उनले बताए ।
हराएका व्यक्तिहरू खोजतलास कार्यलाई अरू मुद्दासरह अनुसन्धान एवम् खोजतलास गर्ने उनको भनाइ छ । सीमावर्ती अपराध एवं तस्करी नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गरेर अगाडी बढ्ने उनले बताए । ‘सिम क्षेत्रमा रहेका प्रत्येक प्रहरी कार्यालयहरूले विशेष कार्य योजना बनाई लागु औषध ओसारपसार, बिक्री वितरण, मानव तस्करी, राजश्व चुहावटलाई पुर्णरूपमा निस्तेज पार्नेछु,’ उनले भने, ‘भन्सार सँग सम्बन्धित सरोकारवाला निकायहरू सँग राजस्व छलीको प्रवृत्तिलाई पूर्ण नियन्त्रण गर्ने, भारतीय काउन्टर पार्टसँग समेत निरन्तर समन्वय र सहकार्य गरी राजस्व चुवा रोक्न लागि पर्नेछौँ ।’
डिआइजी बास्तोलाले स्मार्ट प्रहरी कार्यालय निर्माणलाई प्राथमिकता दिने बताए । संघिय सरकार तथा स्थानीय सरकारको सहयोगमा बन्ने नयाँ प्रहरी कार्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै, थप साधन श्रोतबाट सुसम्पन्न गर्न पहल गर्ने उनले बताए । यसअघि संचालन भएको आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियान, लागू औषध दुर्व्यसन विरुद्धको विशेष अभियानहरूलाई निरन्तरता दिएर अगाडी बढ्ने उनले बताए ।