५४ तोला सुन र चाँदी बरामद प्रकरण

दुगड ग्रुपका लेखापाललाई ८० लाख ४० हजार धरौटी, बैंक ग्यारेन्टी राखेर मुरारका रिहा 

विराटनगर । ठुलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोद कुमार मुराकारसहित तीन जना धरौटी रकम बुझाएर रिहा भएका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले मंगलबार तोकेको ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ धरौटी रकम बुझाएर मुराकारसहित तीन जना धरौटीमा रिहा भएका हुन् ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले बिगो बरावरको धरौटी मंगलबार खुलाएको हो । प्रतिवादीहरूको बयान सकिएपछि बिगो बरावरको धरौटी रकम खुलाएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । राजस्वले तोकेको धरौटी रकम बुझाएर उनीसहित तीन जना रिहा भएका छन् । ‘तोकेको धरौटी रकम बरावरको बैंक  ग्यारेन्टी  राखेका छन्,’ राजस्व अनुसन्धान प्रमुख आचार्यले भने, ‘धरौटी रकम बुझाएपछि रिहा भएका छन् ।’ धरौटी रकम बुझाएर रिहा भए पनि उनलाई १५ दिनको तारेखमा राजस्वले राखेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मुरारका सहित ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित ५६ बर्सिया पुष्पा मुरार र चालक विराटनगर २ का ५२ बर्सिया विमल कामतलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये विनोद विराटनगरको केएल दुगड समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूको साथबाट प्रहरीले ६३३.९३ग्राम सुन अहिलेको बजार मूल्य अनुसार ६० लाख ८७ हजार ५६५ रुपैयाँ, ८७५६।३३ ग्राम चाँदी ६ लाख ४४ हजार २ सय ४५ रुपैयाँ हुन आउँछ । यस्तै  ८ लाख ४ हजार ७ सय ८९ भारतीय रुपैयाँ नेपाली १२ लाख ८८ हजार ८ सय ७० हुन आउँछ । जम्मा ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ हुन्छ ।

मुरारका केएल दुगड कम्पनीका भरपर्दा लेखापाल हुन् । उनी सुनको सौखिन थिए । उनको छोरा र बुहारी भारतको अहमदवादमा बस्छन् भने छोरी ज्वाइँ भारतको पूर्णियामा बस्छन् । आफूले जम्मा गरेको सुन, चाँदी तथा गरगहनाहरू छोरा र छोरीलाई भागबन्डा गर्दिन भारत लिएर गएको उनले प्रहरीलाई बयान दिएका छन् । अवैध साढे ७ लाख भारतीय रुपैयाँ भने स्वास्थ्य उपचारका लागि लगेको उनले बताएको प्रहरीले जनाएको छ । यद्यपि ठुला घरानाका लेखापालले बिल बिनाको सुनचाँदी तथा नेपालमा प्रतिबन्ध रहेको भारतीय नोट बोकेर किन हिँडे भन्ने विषय शङ्काकै घेरामा रहेको प्रहरीले जनाएको छ । नेपालमा २५ हजारसम्म १ सय दर भन्दा मुनीका भारतीय नोट बोक्न पाइन्छ । तर, १ सय बढी दरका नोटहरू नेपालमा अवैध छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनको विराटनगरस्थित पोखरिया स्कुल छेउमा भव्य घर छ । भारतीय नागरिक रहेका उनको नाममा घर कसरी आयो भन्ने विषय पनि खुलेको छैन । उनीसँग भारतको बिहारस्थित कटिहारेको वडा नम्बर १७ को आधार कार्ड रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार, २६ बैशाख, २०८०, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर