विराटनगर । ‘जाँड रक्सी त्यागौं, स्वच्छ समृद्ध र समुन्नत समाजको निर्माण गरौं, स्वास्थ्य जीवन उच्च विचार, जाँड रक्सी बेकार’ भन्ने मुल नाराको साथ सहयोगी हातहरुको समुह (सहास) नेपालको आयोजनामा मोरङको जहदा गाँउपालिका वडा नं. ५ लक्ष्मीनिया चौकमा हरियाली युवा समुहले सडक नाटक प्रदर्शन गरेको छ ।
कार्यक्रममा जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्र प्रशाद साह, जहदा–३ का वडा अध्यक्ष अनिल कुमार ठाकुर, जहदा–४ का वडा अध्यक्ष शिवशंकर गामी, मझारे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हरिकृष्ण लेवती, साहस नेपालको तर्फबाट एलिना मोक्तान, राजेन्द्र साह, नितेश कुमार साह लगायतको उपस्थिति थियो ।
समाजमा भइरहेको लागुऔषध तथा मदिरापानले समाजमा निम्त्याने झैँ–झगडा, यसबाट उत्पन्न हुने विभिन्न समस्याको बारेमा नाटक मार्फत उजागर गरिएको थियो। नाटकमार्फत जाँडरक्सीको सेवनले पैसाको नोक्सानी, घरेलु झैँ झगडा, सामाजमा हो–हल्ला, आपासी झगडा तथा असमझदारी हुने लगायत बिभिन्न समस्याको बारेमा प्रष्ट्याइएको थियो।
समाजमा रहेको कुप्रथा, बालबिबाह, मादकपदार्थ सेवन लगायत अन्य सामाजिक मुद्दाहरुका समस्याहरु नियन्त्रण गर्ने उद्देश्यका साथ सडक नाटक प्रदर्शन गरेको साहस नेपाल संस्थाकी माधुरी कुमारी मण्डलले बताइन् । सहास नेपाल जहदा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषी, छात्रवृति, युवा लक्षित जस्ता ४ वटा परियोजनाहरु संचालन रहेको नितेश कुमार साहले बताए।