विराटनगर । विराटनगरस्थित रत्ना होटेल छेउमा लागेको विराटनगर महोत्सवमा स्थानीय प्रशासन र प्रहरीकै संरक्षणमा खुलेआम जुवाजन्य खेल भइरहेको छ ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको जमिनमा लागेको महोत्सवमा बेलुकादेखि खुलेआम जुवाजन्य खेल हुने गरेको पाइएको हो ।
राती ७ बजेदेखि मध्य राती ११ बजेसम्म सञ्चालन हुने महोत्सवमा आधा दर्जन बढी स्टलमा जुवाजन्य खेलहरू हुने गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली काँग्रेसका युवा नेता अनिल थापा आबद्ध रहेको सेभ नेचर फाउन्डेसनले आयोजना गरेको महोत्सव जेठ १ गतेसम्म सञ्चालन हुनेछ । १५ वैशाखमा उक्त महोत्सवको उद्घाटन भएको थियो । उनको जमिनमा सञ्चालन भएको महोत्सवको संयोजक थापाले झापाबाट आएका युवालाई जुवाजन्य खेल दिन ठेक्का दिएको हो । थापाले झापाको आरके भाइ लगायतका समूहलाई पाँच लाखमा महोत्सव ठेक्का दिएको बुझिएको छ । थापाले ठेक्का बापत दुई लाख रुपैयाँ लिइसकेका छन् ।
जुवाजन्य खेलहरूमा राति ठुला ग्राहकको जमघट भई लाखौँको कारोबार हुने प्रत्यक्षदर्शीले बताए । काँग्रेसका युवा नेता थापाले राजनीतिक संरक्षणमा महोत्सवमा जुवाजन्य गतिविधि गराएको हो । यसरी जुवाजन्य खेल खुलेआम खेलाउँदा पनि स्थानीय प्रशासन मौन रहेको छ । जुवाजन्य खेल भइरहेको स्थान वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को पर्दछ । वडा प्रहरी कार्यालयका डिएसपी विजय श्रेष्ठ रहेका छन् । महोत्सवमा खुलेआम जुवाजन्य गतिविधि हुँदा पनि प्रहरी मौन रहेको विषयमा बुझ्दा वडा प्रहरी कार्यालयका डिएसपी श्रेष्ठले आफूलाई त्यस विषयमा जानकारी नभएको बताए । ‘अहिलेसम्म महोत्सव लागेको ठाउँमा गएको पनि छैन,’ डिएसपी श्रेष्ठले भने, ‘यस विषयमा के रहेछ म बुझेनछु ।’
वडाका डिएसपी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहाललाई महोत्सवमा जुवाजन्य खेल भइरहेको विषयमा बुझ्दा उनले पनि अनविज्ञ रहेको बताए । ‘तपाईँले भनेपछि मैले पनि जानकारी पाए । महोत्सवमा जुवाजन्य खेल भएको रहेछ भने तत्काल हटाएर खेलाउनेलाई कारबाहीको दायरमा ल्याउनेछौँ ।’
पत्रकार दासमाथि आक्रमणको प्रयास
महोत्सवमा जुवाजन्य गतिविधि भएको जानकारी पाएपछि रिपोर्टिङमा गएका पत्रकार सोनु दास र क्यामेरा पर्सन कपलेश यादवमाथि आक्रमणको प्रयास भएको छ ।
शनिवार राती महोत्सवमा रिपोर्टिङ गर्न गएका दास र यादव माथि जुवाजन्य खेल खेलाउने समूहबाट आक्रमणको प्रयास भएको हो ।
महोत्सवमा उनीहरूले जुवाजन्य खेल खेलाएको भिडियो खिचेपछि पत्रकार दास र यादवमाथि आक्रमणको प्रयास गरेका थिए । पत्रकार दास र यादव महोत्सव स्थलबाट भागेर बाहिर आएपछि प्रहरीले उद्धार गरेको थियो । आक्रमण गर्नेमाथि कारबाहीको माग राख्दै दासले आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिने बताएका छन् ।
महोत्सव संयोजक अनिल थापाले आफू बिरामी भएको कारणले घटनाको विषयमा थाहा नभएको बताए । ‘बिरामी भएर मेडिसिन खाएर अहिले म घरमा छु,’ उनले भने, ‘घटनाको विषयमा आफूलाई केही थाहा छैन ।’ आक्रमण गर्नेलाई कारबाहीको लागि हामी पनि सहयोग गर्ने उनले बताए । महोत्सवमा जुवाजन्य खेल खेलाएको विषयमा संयोजक थापाले जवाफ दिन चाहेनन् ।