

विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको विषयमा छलफल गर्न एमालेले बैठक बस्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले पदाधिकारी बैठक बस्न लागेको जनाइएको छ । सांसद रायमाझीको नाममा पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेले उनलाई निलम्बन गर्ने तयारी स्रोतले बताएको छ ।
अध्यक्ष ओलीले आफू निकट नेताहरूसँग पुर्जी जारी भएपछि फरार भएर ठिक नगरेको बताउने गरेका छन् । उनले आफूनिकट नेताहरूसँग रायमाझी फरार हुँदा आफूमाथि र पार्टीमाथि प्रश्न उठेको र यसले क्षति गरेको बताएको स्रोतको दाबी छ ।
रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेट गरी सकेका छन् । टोपबहादुरका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।