मुख्यमन्त्रीको प्रस्ताव आएको छ : भक्तिप्रसाद सिटौला

 भक्तिप्रसाद सिटौला

कोशी प्रदेशमा नयाँ सरकार बनाउने चर्चा सेलाएको छैन । तर, गणितले केन्द्रका सत्ता गठबन्धन (काँग्रेस, माओवादी, नेकपा (एस) र जसपा)दललाई साथ दिएको छैन । गणितले साथ नदिएजस्तै कोशी प्रदेशमा राप्रपाको साथ खोजेका उनीहरुलाई राप्रपाले पनि भरोसायोग्य वचन दिन सकेको छैन । यही दोधारका बीच यो गठबन्धनका नेताहरु कहिले सरकार तत्काल ढाल्ने बताउँछन् कहिले ढाल्न नसकिने आशयका अभिव्यक्ति दिन्छन् । यही सन्दर्भमा कोशी प्रदेशमा सत्ताको साँचो लिएर बसेको राप्रपा भने मुख्यमन्त्रीको च्याखे दाउ थापिरहेको चर्चा पनि सुरु भएको छ । यो कुरा साँचो हो ? राप्रपाले दोहोरो रोल खेल्यो र बार्गेनिङ बढाइरहेको आरोप छ । त्यो कुरा पनि साँचो हो ? यो अन्तरवार्तामा यस्तैयस्तै प्रश्नको हल खोल्ने प्रयास गरेका छौं । प्रस्तुत छ कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलासँग गरिएको कुराकानीको अंशः

केही दिन अगाडि काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले बजेट अगाडि नै कोशी प्रदेशको सरकार ढल्छ भन्नुभयो । उहाँले भनेजस्तै हो कि फरक छ ?

– अँ मैले पनि उहाँले त्यसो भनेको कुरा सुनेँ । उहाँले के आधारमा भन्नुभयो । के हिसाव छ । यो सबै कुरा मलाई थाहा छैन । प्रदेशको सरकारको सम्बन्धमा के छ भने अहिले एमाले, माओवादी, राप्रपा र जसपा मिलेर सभामुखसहित ६० सांसदको समर्थनमा सरकार बनेको छ । यो सरकार परिवर्तन हुने भनेको सरकारमा बसेका हिंजो विश्वासको मत दिएका दलहरुमध्ये कसैले आफ्नो समर्थन फिर्ता लिएको जानकारी गराए भने सरकार परिवर्तनको कुरा हुन्छ । अहिलेसम्म त्यो अवस्था छैन । मैले अनौपचारिक कुरा गर्दा पनि सरकारमा रहनु भएका दलहरुले तुरुन्तै त्यस्तो हुनसक्ने कुरा गरेका छैनन् । जसपाको कुरा पनि प्रष्ट त्यस्तो कुरा आएको छैन । माओवादीका साथीहरुबाट पनि त्यस्तो कुरा आएको छैन । अहिलेको सरकारमा रहेका सबै दलहरु समन्वयमै काम गरिरहेको अवस्था छ । तर, केन्द्रको सरकारको गठबन्धन परिवर्तन भएको परिस्थितिमा यो प्रदेशमा पनि सरकार परिवर्तन हुन्छ । एमालेको ४० सिट छ बहुमत छैन भन्ने मान्यता बोकेर मानिसहरूले कुराकानी गरिरहेका छन् । तर, अहिलेको परिस्थितिमा पार्टीले एक अर्कामा सरकार टुटाउने फुटाउने कुरा नगरेको र सरकारको समर्थन भएका दलहरुले पनि समर्थन फिर्ता नलिएको परिस्थिति हुँदा अहिले सरकार परिवर्तनको कुरालाई भन्न सकिएन । अहिले मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यूको नेतृत्वको सरकार टिकेकै छ । टिकिरहन्छ होला । अझै केही दिन टिक्छ होला ।

तपाईको पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि काँग्रेस, माओवादीलगायतका दलले छलफल गरिरहेको विषय पनि सुनिएको छ । प्रदेशस्तरमा चाहिं त्यसखालको छलफल भइरहेको छ कि छैन ?

छलफल भइनै रहेको छ । सरकार परिवर्तनको कुरा गर्दा पनि कसरी जाने, के गर्ने भन्नुहुन्छ । उहाँहरु हामीलाई सहयोग गर भन्नुहुन्छ । सहयोग गर्दा त हामी आस्वस्त भयौं भने न हाम्रो सहयोग पनि कामयावी रहन्छ । अहिले काँग्रेस, माओवादी, नेकपा एस र जसपा मिल्दा ४६ सिट हुन्छ । एमाले र राप्रपा मिल्दा पनि ४६ हुन्छ । मसँग काँग्रेसका नेताहरुले पनि कुरा गरेका छन् । सबै गुटका काँग्रेससँग मैले कुरा गरेको छ । उहाँहरुको तीनवटा गुट छ । त्यहाँ पनि कुरा गरेको छु । माओवादीका नेतासँग पनि कुरा गरिराख्नु भएको छ । विशेष गरी मेरो अध्यक्ष राजेन्द्र लिङ्देनज्यूसँग माओवादी संसदीय दलका नेता माननीय इन्द्र आङ्बोले पनि कुरा गरिरहनु भएको विषय मेरो जानकारीमा छ । मसँग पनि माओवादी केन्द्रबाट मन्त्रीपरिषदमा सहभागी हुनुभएका मन्त्रीज्यूहरुले छलफल गरिरहनु भएको छ । अब मैले कसैलाई हुँदैन, कसैलाई हुन्छ भनेर भनेको पनि छैन । मेरो यही शैलीले यसको कुरा चाहिं के हो भनेर जिज्ञासा पनि हुन सक्छ ।

जिज्ञासा मात्रै होइन । तपाईले जिब्रो चपाएको भनेर आरोप लागिरहेको छ । डबल रोल खेलेको कुरा पनि आएका छन् नि ?

– अँ त्यस्तो कुरा पनि आएको छ । तर, त्यतिखेर चिण्डो फोर्नुपर्छ, त्यतिखेर घ्याम्पो भेटिन्छ । अहिले घ्याम्पो नै देखिएको छैन । चिण्डो फोरिहाल्नु हतारो हुन्छ कि जस्तो मलाई लाग्छ ।

मतलब काँग्रेस–माओवादीले नयाँ सरकार बनाउन खुट्टा दह्रो बनाएका छैनन् ?

– उहाँहरुको खुट्टा मज्जाले तंग्रिएको देखिँदैन । खुट्टा पनि दह्रो नटेकेको र पार्टीहरुका मान्छेहरुका एक अर्काको झगडा धेरै छ । अन्तरपार्टीको झगडा छँदैछ । त्यसमा अरु पार्टीको झगडा झनै हुने देखिन्छ । त्यसैले उनीहरुलाई समर्थन गर्दा पनि सरकार स्थिर हुने देखिँदैन । हामी सरकारलाई समर्थन दिन सक्छौं तर यिनिहरुले स्थिर सरकार दिन्छन् भन्ने भरोसा अहिलेसम्म बनिरहेको छैन ।

तपाईसँग वा राप्रपासँग काँग्रेस र अन्य दलले चित्त दुखाएका छन् कि जस्तो पनि देखिन्छ । राप्रपाले मुख्यमन्त्रीमा चासो देखायो । बार्गेनिङ गर्यो भन्ने पनि छ ? खास कुरा चाहि के हो ?

– यो त स्वभाविक कुरा हो । राजनीति भनेको आदर्श पनि हो अवसर पनि हो । यो मुख्यमन्त्रीको अवसर तँलाई दिन्छौं भनेर उनीहरु आए भने त्यहाँ आदर्शको कुर्बान हुन्छ भने अवसरलाई मात्रै पछ्याएर कुद्ने कुरा पनि हुँदैन । आदर्श मात्रै रुँघेर बसेर पनि जडसुत्रवादी भइन्छ । राजनीति गर्ने मानिसले अवसरलाई पनि पक्डन सक्नुपर्छ । अहिलेको अवस्था अरु सबै पार्टीका मानिस मिलेर ल तपाई मुख्यमन्त्री बन्नुपर्यो भन्ने अवस्था आएको हो भने त्यहाँ कसरी जाने भन्ने कुरामा मूल्यांकन गर्छौं । तर, यहाँ आइज तिमी मन्त्री छँदैछौं, अब पनि मन्त्री नै बनाउँछौं भनेर केटाकेटी कुरा गर्न त उनीहरु पनि आउँदैनन् होला पक्का । अहिले सरकारमा एउटा मन्त्री छौं । दुईवटा, तिनवटा मन्त्री लिनुहोस् भन्ने अफर त आउला नि त । या तपाई मुख्यमन्त्री बन्नुपर्यो हामी मन्त्री बन्छौं । या रोजी मन्त्रालय लिनुहोस् भन्ने आउला नि त ।

तपाईले यो कुरा गर्दा गर्दै मुख्यमन्त्री भनेर कुनै पार्टीका पक्षहरूले अफर दिएका छन् ?

– गरेका छन् । मलाई मुख्यमन्त्री दिने कुरा गरिरहेका छन् । नयाँ सरकार बनाउन चाहने पार्टीका मानिसहरुले मलाई मुख्यमन्त्रीको अफर गरिरहेकै छन् … हा हा हा …। तर, अब यो भरपर्दो सरकार बन्ने आधार नभइकन मुख्यमन्त्रीको पछि कुद्ने होइन । मैले मुख्यमन्त्रीमा गएँ एक दुई महिना मुख्यमन्त्री भएँ । त्यहाँबाट राजनीति स्थिर भएन भने मेरो राजनीति सुझबुझ त भएन । म मुख्यमन्त्री भएर पनि स्थिर हुने अवस्था आयो भने न हुनेकुरा भयो ।

तपाईलाई मुख्यमन्त्रीको अफर आइसकेपछि बा भइपो हालिन्छ कि भनेर एमालेसँग र अर्को पक्षसँग दोहोरो कुरा त गरिरहनु भएको छैन भन्ने आशङ्का गर्नेहरुलाई चाहिं तपाई के भन्नुहुन्छ ?

– हा…हा…हा… भुगोल नै नभएको राज्यको प्रधानमन्त्री बनाइदिन्छु वा राजा बनाइदिन्छु, राष्ट्रपति बनाइदिन्छु भने भन्दैमा त्यसको पछि कुद्नु भएन नि । त्यति कमजोर राजनीति गर्ने कुरा हुन्छ र भनेको ।

भनेपछि सरकार परिवर्तनका लागि सरकारको स्थिरताको लागि आधार खडा गर्नुपर्यो । स्थायी सरकारको भरोसा दिनुपर्यो । सरकारमा उपर्युक्त पावर शेयरिङको व्यवस्था हुनुपर्यो र प्रभावकारी मन्त्रालय पाउनु पर्यो भन्ने हो ?

– हो । सरकार स्थिर बन्ने वातावरण बनाउनु पर्यो र भरोसा दिलाउनु पर्यो वा पावर शेयरिङमा उपर्युक्त स्थान हुनुपर्यो भन्ने कुरा हो । अब प्रभावकारी काम गर्ने यो मन्त्रालय त्यो मन्त्रालय भन्ने मेरो च्वाइस छैन । किनभने मेरो पार्टी भ्रष्टाचारमा शून्य सहनशीलता चाहन्छ । मन्त्री भएपछि चुनाव खर्च उठाउने, अर्को चुनाव खर्च जोहो गर्ने वा कार्यकर्ता सेटल गर्ने तुच्छ कुरामा राप्रपा लाग्दैन । राप्रपा जहाँ गएपनि काम गर्न जाने हो । अहिले म कृषि मन्त्रालयमा छु । आर्थिक चलखेलको हिसावले यो ठण्डा मन्त्रालय हो । तर, यहाँ पनि कमाउने भाँडो बनाउँदा ठाउँ होला । तर, यो मन्त्रालय भनेको कृषि क्षेत्रको विकास, योजना र दूरदृष्टिकोण लिएर अगाडि बढाउने मन्त्रालय हो । त्यसकारण मन्त्रालय भनेको अनुभवको आधारमा बाँडफाँड गर्ने र जिम्मा लिने विषय हो । मन्त्रालय भनेको विकासे मन्त्रालय, अध्ययन अनुसन्धान, शासन सम्हाल्ने खालका विपिभन्न प्रकृतिका मन्त्रालय हुन्छन् । आफ्नो नेचर के छ त्यसअनुसार मन्त्रालय रोज्न सक्यो भने काम गर्न सहज हुन्छ । पछि सरकार बन्ने भयो भने त्यतातिर थप कुरा गरौंला । अहिले यस विषयमा धेरै कुरा नगरौं ।

अघि तपाईले भनेजस्तै एमाले र राप्रपा एकातिर (४६), काँग्रेस, माओवादी, नेकपा एस र जसपा एकातिर (४६) हुँदा ढक पल्ला समान ढंगले रहने भयो । अहिलेको सरकार ढल्ने नढल्ने अवस्थाको विषयमा विश्लेषण गर्दा चाहिं त्यही ढक पल्ला जस्तै ५०–५० प्रतिशतको अवस्था हो कि केही तलमाथि हुनसक्छ ?

– होइन । अहिले सरकारलाई समर्थन दिएका कोही पनि दलले फिर्ता लिएका छैनन् । तर, समर्थन फिर्ता लिएको अवस्थामा संविधानको व्यवस्था अनुसार विश्वासको मत लिनुपर्यो । विश्वासको मत लिन नसके पुनः संविधानको धारा १६८ को उपधारा २ अनुसार पुनः सरकार गठनको आव्हान हुनुपर्यो । त्यस अवस्थामा काँग्रेस, माओवादी, एस र जसपाको ४६ मात्रै हुन्छ । तर, दाबी गर्ने ४७ पुग्नु पर्यो । सभामुख त्यहाँ गणना हुन सक्नुहुन्न । उहाँले बराबरी भएको अवस्थामा निर्णायक मत दिने मात्रै हो । त्यस्तो अवस्थामा सभामुखले राजीनामा दिएर ४७ पुर्याउन सक्नु हुन्छ । तर, सभामुखले राजीनामा दिने कुरा उहाँको कुरा हो । पार्टीले सभामुखजस्तो गरिमामय पदलाई राजीनामा गराएर भोट हाल्नेमा सीमित गर्छ कि गर्दैन त्यो एउटा इतिहासको कुरा पनि भयो । उहाँले राजीनामा दिनुभयो भने उपसभामुखले स्वीकृत गर्नुपर्यो । उहाँले स्वीकृत गर्नुहुन्छ हुन्न यि विषय पनि तपशिलका विषय हुन् । राजीनामा नदिएको अवस्थामा सरकार नै बन्न सक्दैन । पुनः संविधानको सोही धाराको उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा एमालेले मुख्यमन्त्री पाउँछ । उसले पनि विश्वासको मत लिन नसके उपधारा ५ हुँदै मध्यावधिमा जाने सम्भावना हुन्छ ।

धेरैले राप्रपालाई एमालेकै कित्तामा राखेर कुरा गरिरहेका छन् ? तपाईहरू एमाले छोडेर अन्त जानै नसक्ने अवस्था हो र ?

– हामीलाई एमालेको कित्तामा राखेर केही मानिसले हेरेका होलान् किनभने हामी सहकर्मी भएर चुनाव संयुक्त रुपमा लडेर आएका हौं । त्यसआधारले निकट छौं भन्ने पनि होला तर, त्यो होइन । हामी एमालेले जे भन्छ त्यो गर्ने हाम्रो पार्टी होइन । हाम्रो आफ्नै पार्टी छ । हाम्रो आफ्नै सिद्धान्त र नीति छ । हामी एमालेको कान्छो भाइ जस्तो पनि होइनौं । एमालेले हामीलाई चित्त नबुझ्ने कुरा गर्यो भने इमिडिएट अर्को ढंगले चल्न सक्छौं । तर, अहिलेको परिस्थितिमा एमालेले पनि त्यस्तो केही गरेको छैन । अर्को पक्षका पार्टीहरूले पनि मिलेर सरकार बनाइहाल्छन् कि भन्ने अवस्था पनि म देख्दिन ।

अर्को प्रसंगमा । कोशी प्रदेश सरकारले बजेटको तयारी पनि गरिरहेको छ । तपाई सरकारको प्रवक्ता समेत पनि हुनुहुन्छ र कृषिमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । के कसरी काम भइरहेको ? नयाँ के कार्यक्रम आउन सक्ने अवस्था छ ?

– बजेटको आकार घटेर आउने निश्चित भयो । हाम्रो चौमासिक बजेटमा रकमान्तर गरेर खर्च गर्ने बजेट पनि अब नगर्नु भनेर कुरा आएको छ । हामीले त्यही किसिमले गरिरहेका छौं । बाँकी बजेटको ५० प्रतिशत फिर्ता पठाउनु भन्ने परिपत्र पनि आएको छ । त्यसो भएकोले अहिले नै नयाँ के गर्ने भन्ने विषय ठोस भइसकेको छैन । यद्यपि कृषिमा र उद्योगमा लङटर्म पोलेसी के हुन्छ भनेर छलफल तथा अध्ययन गरिरहेका छौं । अब निश्चय नै पैसा हुँदा मात्रै होइन । पैसा नहुँदा पनि राम्रो काम गर्ने प्रयास हुनेछ । कृषि क्षेत्रमा कम बजेट छ । यसपाली झनै घट्ने देखिन्छ । हाम्रोमा उद्योग, कृषि र सहकारी मन्त्रालयमा बजेट जति आउँछ त्यस अनुसारका कार्यक्रम हुनेछन् ।

प्रदेशको मन्त्रीको रुपमा चार महिना काम गर्दा प्रदेश खारेज गर्नुपर्छ भन्ने तपाईको पार्टीको नीति सही रहेछ कि होइन प्रदेश चाहिने रहेछ जस्तो लागेको छ ?

– यो कुरा के हो भने खारेज गर्नुपर्ने कुराको निष्कर्षमा पार्टी पहिले नै पुगेको हो । त्यो कुरामा ३५ वर्ष काँग्रेसमा काम गरेको मान्छे प्रदेश खारेज गर्नुपर्छ भन्ने एजेण्डा मनपराएरै म यो पार्टीमा आएको हो । तर, हामी बाहिर बसेर कराउनु भन्दा यही बसेर जनताको सेवा गरौं भन्ने हो । यो संविधानले काम दिँदैन भनेर हामी सँधैभरि भनिरहेकै छौं । तर, संविधान चलुन्जेल त संविधान पालना गर्नुपर्यो नि । यो संविधान परिवर्तन गर्नका लागि हाम्रा प्रयत्न जारी छन् । संघीयता खारेजका लागि हाम्रो प्रयत्न जारी छ । मात्रै तीन करोड पनि जनसंख्या नभएको ठाउँमा ८ वटा सरकार वाहियत खर्च हो भन्ने कुरा निष्कर्षमा पुगेकै हो । तर, पनि संविधान परिवर्तन नगरेसम्म त यसलाई मान्नुपर्छ ।

अन्तिममा । प्रदेश कोशी नामाकरण गरेपछि झापा, मोरङ र सुनसरीभन्दा माथि पहाडतिर त मन्त्रीहरु जानै नसक्ने अवस्था सिर्जना भइरहेको छ । केही दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीज्यू जाँदा मेचीका पहाडी जिल्ला तनावग्रस्तै बने । यो नामाकरणको विषयमा प्रदेश सरकारले चाहिं कसरी सम्बोधन गर्छ ?

– अहिले केन्द्रबाट यस विषयमा छानविन समिति बनाएको र त्यसले रिपोर्ट दिन्छ । त्यसपछि त्यसले केही निकास देला । नत्र यो राजनीतिक विषय हो । यसलाई हामीले कुल्चिएर हिंड्नुपर्छ भन्ने मनसाय राखेको छैन । प्रदेश सरकारले केन्द्रको समितिले रिपोर्ट दिएपछि वार्ता गर्ने हो कि के गर्ने हो निर्णय गर्छ । यसलाई राजनीतिक हिसावले नै समाधान दिनुपर्छ । अर्को कुरा पहिचानवादी मुद्दा बनाएर राजनीतिमा लागेका अहिलेका सत्तामै बसिरहेका ठूला दलका साथीहरुले राजनीतिक हिसावले फेस सेभ गर्नका लागि पनि यो गरेको जस्तो लाग्छ । कहिले काँही सानोतिनो झगडा हुँदा पनि श्रीमान र श्रीमतीबीच कसले पहिले बोलाउने भन्ने विषय हुन्छ । त्यसकारण राजनीतिमा पनि त्यो हुन्छ । त्यसकारण आफ्नो मुद्दा बरकरार राखेको हुँदा फेससेभिङका लागि केही गर्नुपर्ने हुनसक्छ । तर, अब अर्को कुरामा त्यही अनुसारको बहुमत जुट्छ कि जुट्दैन ? ९५ प्रतिशतको समर्थन लिएर गरेको कुरालाई त्यही प्रक्रियाबाट सुधार्न सकिन्छ । तर, अहिलेको अवस्थामा साथीहरुको फेससेभिङको कुरालाई वार्ता गर्ने, छलफल गर्ने गर्नुपर्छ त्यहाँबाट भाग्नु हुँदैन । यसलाई सेफल्याण्डिङ खोज्नुपर्छ र राजनीतिक मान्छेको राजनीतिक मुद्दालाई हामीले सम्बोधन गर्नुपर्छ ।

शुक्रबार, २२ बैशाख, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर